२०८२ श्रावण ६, मंगलवार ०९:०५

धनुषाको मिथिला नगरपालिका–८ स्थित जमुनिबासमा एक शिक्षिकाको आत्महत्यामा उक्साहट दिएको अभियोगमा राजकिशोर यादव पक्राउ परेका छन् ।

मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर जनता राष्ट्रिय आधार भूत विद्यालय, जमुनिबासमा कार्यरत थिइन् । साउन १ गते एकाविहानै उनी विद्यालयकै शिशु कक्षाकोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

धनुषा प्रहरीका अनुसार विमलाले केही वर्षअघि राजकिशोर यादवसँग तीन लाख बीस हजार रुपैयाँ ऋण लिएकी थिइन् । सो रकम चुक्ता गरेपनि यादवले चेकमार्फत ४५ लाख रुपैयाँको दाबी गर्दै उनलाई बारम्बार मानसिक यातना दिँदै आएका थिए ।

प्रहरीले बरामद गरेको आत्महत्या नोटमा उनले चेकको दबाब, बेइज्जती गर्ने धम्की र सामाजिक दबाबले आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी थिइन् ।

घटनापछि प्रहरीले अभियुक्त राजकिशोर यादवलाई साउन २ गते बिहान ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट पक्राउ गरेका थिए ।

यादवको निवासबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा लेखिएका नऊ वटा कपाली तमसुक, तेईसवटा सक्कल जग्गाधनी प्रमाणपत्र, साथै बैंक भौचर र चेकहरू समेत बरामद गरेको छ ।

प्रहरीले घटनालाई आत्महत्या दुरुत्साहनको गम्भीर अपराध मानेर अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News