२०८२ श्रावण ६, मंगलवार १४:०५

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियड लागू गर्ने विषयमा कांग्रेसले कुनै कम्प्रमाइज नगर्ने बताएका छन्।

निजामती विधेयकबाट कुलिङ पिरियडको व्यवस्था हटाउन राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेकोप्रति आपत्ति जनाए।



बीपी कोइराला ४३औँ स्मृति दिवसको अवसरमा बीपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार बनाउनको लागि एक अर्काको दृष्टिकोण स्वीकार गरेर मात्रै गठबन्धन सफल हुनसक्छ। म जे चाहन्छु त्यही नै हुनुपर्छ भनेर हुँदैन। यसमा प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’

कांग्रेसको जायज दृष्टिकोण प्रधानमन्त्रीले स्वीकार्नुपर्ने बताए। उनले सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि परेको भन्दै ढिलै भए पनि कार्यान्वयनमा लानुपर्ने बताए।

उनले थपे, ‘नचाहिने माग कांग्रेसले राख्दै राख्दैन। यसै पनि उदार पार्टी हो, प्रधानमन्त्रीले कांग्रेसको माग सम्बोधन गर्नुपर्छ। कुलिङ पिरियड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो। त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन। लागू हुनपर्छ। अरू भूमि विधेयकमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ। एकलौटी लाद्ने कुरा स्वीकार्य हुन सक्दैन।’

यो गठबन्धनको सरकार ०८४ जाने निर्णय गरेर अघि बढेको भन्दै त्यसको प्रभावकारिता बढ्नुपर्ने बताए। उनले नियुक्तिहरूमा पनि सन्तुलित भएर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए।

Comment


Related News