
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसका लागि नभई आमनागरिकका लागि हुनुपर्ने बताउनुभएको छ । काठमाण्डाैमा आज आयाेजित एक कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीकाे वातावरण निर्माण गर्ने उल्लेख गर्नुभयाे । उहाँले नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताउनुभयो ।
भण्डारीले समृद्धिको मार्ग अरूको मोडल अनुशरण गर्ने मात्र नभई आफ्नै समाजका आवश्यकता, स्राेत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रूपमा विश्लेषण गरेर नै तय गर्नुपर्नेमा जाेड दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो । नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन् । तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ । हामीले के बिर्सिनु हुँदैन भने समृद्धि केवल मुठीभर मानिसहरूका लागि होइन, आमनागरिकका लागि हुनुपर्दछ ।’
पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन, विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । समृद्धि अब सपना नभई सङ्कल्प बन्नुपर्ने उहाँले बताउनुभयाे ।