२०८२ श्रावण ९, शुक्रबार ०८:३६

प्रतिनिधिसभा सदस्य किरण साहविरुद्ध मत फिर्ता र पद खारेजको माग गरिएको छ । एमालेका सांसद साहका मतदाता राजकुमार साहले निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गराउँदै सांसद पद खारेजको माग गरेका छन् ।

राजपुर नगरपालिका–४ का साहले निर्वाचन आयोगलाई बुझाएको निवेदनमा किरणकुमार साहले आफ्नो उम्मेदवारी चुनावताका दलहरूविरुद्ध प्रस्तुत गर्दै स्वतन्त्र हैसियतमा जनताको विश्वास जितेको तर पछि ती दलहरूमै फर्केर जनतामाथि धोका दिएको दाबी गरिएको छ। निर्वाचन आयोगमा दर्ता नं. ९९६ अन्तर्गत यो निवेदन पेस गरिएको छ ।

राजकुमार साहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “किरण साहलाई हामीले दलविहीन स्वतन्त्र उम्मेदवारको हैसियतमा मतदान गरी जिताएका थियौं। तर उहाँले पछि त्यही दलमा प्रवेश गर्नु जनतासँगको विश्वासघात हो।“ मतदाताले दिएको मतको नैतिक मूल्य र त्यसबाट प्राप्त पदको गरिमा कायम राख्न नसकेको आरोप निवेदनमार्फत लगाइएको छ ।

नेपालको प्रजातान्त्रिक संरचनामा जनताले प्रतिनिधि चुन्ने अधिकार राख्छन्, तर त्यो अधिकार केवल मत दिएर सीमित हुँदैन । जनतासँग आशा, भरोसा, र प्रतिनिधिको प्रतिबद्धता पनि जोडिएको हुन्छ । किरण साहजस्ता स्वतन्त्र उम्मेदवारहरूले अक्सर स्थापित दलप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनालाई सम्बोधन गरेर मतदाता आकृष्ट गर्छन्। तर चुनाव जितेपछि उनीहरू पुनः ती दलमै प्रवेश गर्दा मतदाताले आफूलाई प्रयोग गरिएको महसुस गर्न थालेका छन् ।

यस घटनाले जनप्रतिनिधिको आत्मस्वीकृति र नैतिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। संसद पद केवल कानुनी रुपमा पाउने मान्यता मात्र नभई जनताको भरोसासँग गाँसिएको सामाजिक जिम्मेवारी पनि हो । नेपालको संविधान र प्रचलित निर्वाचन ऐनअनुसार निर्वाचित सांसदले कुनै दलमा प्रवेश गर्नु गैरकानुनी त होइन, तर नैतिक रूपमा विवादास्पद विषय भने अवश्य हो। संसद पद खारेजको प्रक्रिया भने संवैधानिक एवम् कानुनी पक्षका आधारमा मात्र सम्भव हुन्छ, जसमा संसद सचिवालय वा सर्वोच्च अदालतको भूमिका महत्वपूर्ण हुन्छ ।

सांसद साहविरुद्धको यो निवेदन केवल एक मतदाताको असन्तुष्टि मात्र नभई समग्र राजनीतिक प्रणालीमा बढ्दो नैतिक प्रश्नको प्रतिबिम्ब हो । यदि प्रतिनिधिहरू चुनावपछिको व्यवहारमा जवाफदेही नबने, भविष्यमा स्वतन्त्र उम्मेदवारहरूप्रति जनताको विश्वास खस्किन सक्ने खतरा रहन्छ । निर्वाचन आयोगले यस निवेदनमाथि के प्रतिक्रिया जनाउने हो, त्यसले आगामी दिनमा मतदाता र प्रतिनिधिबीचको सम्बन्ध कसरी पुनः परिभाषित हुन्छ भन्ने कुराको संकेत दिनेछ ।

मतदाता राजकुमार साहले निर्वाचन आयोगमा निबेदन दर्ता गरिएको बारे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । हाम्रो मतको दुरुपयोग भएको हुनाले माननीय किरण कुमार शाह संग आफ्नो मत फिर्ता सहित उहा सांसद पद खारेज गर्न कार्यकारी निर्वाचन प्रमुख ज्यूँ द्वरा मांग गरेको छु । यसका साथै शुक्रवार महिला तथा सामाजिक मामिला समितिमा पछिलो ३ वर्षमा तालीम गोष्ठी, कार्यक्रम तथा यातायातमा भएको खर्च सम्पूर्ण बिवरण सूचनाको हकÞ बमोजिम सभामुख मार्फत मांग गर्ने छु । उनले उल्लेख गरेका छन् ।

सांसद किरण साह महिला तथा सामाजिक मामिला समितिका अध्यक्षको रूपमा तालिम गोष्ठीको नाउँमा नेपाल सरकारको ठूलो रकम दुरुपयोग गरेको उनको भनाई रहेको छ । २०७९ सालको संसदीय निर्वाचनमा हाल आमजनता पार्टीका अध्यक्ष प्रभु साहको साथमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निर्वाचित भए पछि उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संग टिका लगाएर पार्टीमा प्रवेश गरेका थिए । त्यस्तै स्वतन्त्र रूपमा निर्वाचित प्रभु साहले आमजनता पार्टी दर्ता गराएका थिए ।

Comment


Related News

Latest News

Trending News