२०८२ श्रावण १०, शनिबार ०७:४६

गुठी संस्थान, शाखा कार्यालयमा आफ्नो रैतानी नम्बरी जग्गाको मालपोत बुझाउँदै आएका जनकपुरवासी अचेल अलमलमा छन् । अलमलको कारण हो– जनकपुरधाम उपमहानगर पालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ।

असारमा सम्पन्न नगर सभाले नगर क्षेत्रका सम्पूर्ण निजी रैतानी नम्बरी जग्गाको मालपोत उठाउने निर्णय गरेको छ । निर्णय कार्यान्वयनको लागि आवश्यक ऐन (कानून) निर्माण गरिएको छ, अनि यसै साता भित्र राजपत्रमा प्रकाशित गरेर मालपोत असुल गर्ने तयारीमा जुटेको छ ।



जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोजकुमार साह– नेपालको संविधानको अनुसूति– ८, धारा ५७ को उपधारा(४), धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२), धारा २२६ को उपधारा (१) मा स्थानीय तहलाई आफ्नो क्षेत्र भित्रको रैतान नम्बरी जग्गामा कर संकलन गर्न स्पष्ट अधिकार दिइएकोले संविधानको सोही धाराको प्रयोग गरी नगर सभाको निर्णय अनुसार चालु आर्थिक वर्षदेखि मालपोत दस्तुर र कर आफै संकलन गर्ने निर्णय गरेको बताउँछन् ।

अर्कोतर्फ गुठी संस्थान, शाखा कार्यालय जनकपुरधामको नाममा एउटा बेनामी सार्वजनिक अपिल सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा न लेटर पैडको प्रयोग भएको छ न त कसैको हस्ताक्षर छ । तर ‘भ्रममा नपर्न सर्वसाधारणप्रति अपिल ।’ नाम दिइएको उक्त अपिलमा पहिले झैँ गुठी संस्थानमै गुठी तैनाथी जग्गाको मालपोत बुझाउन आग्रह गरिएको छ ।

यस प्रकार जनकपुरधाम उपमहानगर पालिकाको नगर सभाको निर्णय र गुठी संस्थान शाखा कार्यालयको कथित अपिल (अपिलकर्ताको नाम र लेटर पैड नभएकोल कथित भनिएको हो ।) ले पारम्परिक रुपले गुठी संस्थानलाई मालपोत बुझाउँदै आएका जग्गाधनीहरु अलमलमा परेका छन् ।

जउनपामा जग्गाको मालपोत बुझाउँदा मालपोत कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्था तथा अन्य सरकारी निकायले मान्यता देला कि नदेला ? भन्ने चिन्ता र असमञ्जस जग्गाधनीहरुमा छ । जग्गाधनीहरुको यो चिन्ता स्वभाविक हो । तर जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह यस विषयमा प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखहरुसंग सामूहिक छलफल भएको प्रतिक्रिया दिनु हुन्छ– ‘ जनकपुरधाममा गुठीको जग्गा छ र मालपोत तिरेको रसिद हुन्छ ।

जहाँ गुठीको जग्गा छैन, त्यहाँ त पालिकाहरुले नै मालपोत लिन्छ । हामी किन लिन नपाउने ? प्रमुख साह हाकाहाकी भन्छन् । गुठी रैनाथी जग्गा भनेको व्यक्तिको लालपूर्जा भएको निजी जग्गा हो । निजी जग्गामा घर बनाउन जनकपुरधाम उपमहानगरपालिकाले नक्सा पास गर्ने, घर बहाल कर लिने, बैंक तथा वित्तीय संस्थाहरुमा सिफारिस गर्ने अनि मालपोत किन उठाउन नपाउने ? जउनपाका कर्मचारीहरुको दाबी छ । गुठी संस्थान शाखा कार्यालय,जनकपुरधाम मालपोत, लिज तथा वैध/अवैध रुपमा जग्गा बिक्री गरेर वार्षिक करोडाँै रुपियाँ आम्दानी गरेको छ ।

धर्म, संस्कृतिको रक्षा तथा धार्मिक सांस्कृतिक संरचनाहरुको संरक्षण सम्बर्धन गर्ने उद्येश्यले स्थापना गरिएको गुठी संस्थान जनकपुरधामका मठ मन्दिरको निर्माण, जिर्णोद्धार वा मर्मत संभारमा लगानी गरेको जनकपुरधामवासीलाई थाहा छैन । जानकी मन्दिरको करोडाँै मूल्य बरावरको सुन, चाँदी, हिरा, जवाहरात काठमाण्डु लगेको संस्थान हालसम्म फिर्ता गरेको छैन ।

आम्दानी जनकपुरधामबाट गर्ने अनि लगानी बाहिर गर्ने ? अचेल जनकपुरधामका आमनागरिक प्रश्न गर्न थालेका छन् । राधा कृष्ण मन्दिर, गिरनारी कुटी, बिरख कुटी लगायतका दर्जनौँ मठ मन्दिर लोप भइ सकेको छ वा लोप हुने अवस्थामा छ । गुठी संस्थान, जनकपुरधामको शाखा कार्यालय रहेकै भवनमा अवस्थित राजदेवी मन्दिर र जनक मन्दिरको छत चुहिरहेको छ, तर मालपोत उठाउने गुठी संस्थान मर्मत गर्न सकेको छैन ।

जनकपुरधामका धार्मिक स्थल, तालतलैया तथा सांस्कृतिक जगेर्नाका लागि हालसम्म गुठी संस्थानको भूमिका के हो ? आमनागरिक अनभिज्ञ छन् । २००७ सालमा प्रजातन्त्र स्थापनापछि गुठीको बन्दोवस्त अर्थमन्त्रालयबाट हुने व्यवस्था गरिएको थियो । केन्द्रीय स्तरको कार्य गुठी बन्दोवस्त अड्डाबाट भई रहेकोमा वि.सं. २०१८ सालमा गुठी बन्दोवस्त अड्डाको पुनर्गठन गरियो ।

गुठीको रकम असुल र खर्च गर्न गुठी तहसिल र गुठी खर्च अड्डा नामले मालपोत विभाग अन्तर्गत राखिएको थियो । नेपालको संविधान– २०१९ ले गुठी रकम (देवस्व) लाई राज्य कोषबाट अलग गरेकोले राजगुठी बन्दोवस्त र संचालन गर्न गुठी संस्थान स्थापना गरिएको थियो । राजगुठीको संचालन र बन्दोवस्तका लागि गुठी संस्थान ऐन– २०२१ मार्फत गुठी संस्थान स्थापना गरिएको थियो । पछि गुठी संस्थान ऐन २०३३ लागु गरिएको थियो ।

अचेल गुठी जग्गाको बन्दोवस्ती यसै ऐन अनुसार हुँदै आएको छ । मुलुक संघीयतामा गएको एक दशक हुन लागेको छ । गुठी संस्थानको ऐनले प्रदेश र स्थानीय सरकारलाई चिन्दैन । नेपालको संविधानको अनुसूची ८ मा पालिका भित्रका निजी जग्गाको मालपोत असुली गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।

फेरि पालिका भित्रका निजी जग्गाको मालपोत उठाउने जनकपुरधाम उपमहानगरपालिका मात्र होइन, मुलुकका अन्य केही पालिकाहरु पनि छन् । तर जनकपुरधामउ पमहानगरपालिकाले रैतानी नम्बरी जग्गाको मालपोत उठाउँदा जग्गाधनीहरुको हकहितको ख्याल भने राख्नै पर्दछ ।

Comment


Related News

Latest News

Trending News