
नेपाली कांग्रेस असन्तुष्ट पक्षका नेता डा.शेखर कोइराला पक्षधरहरुको शनिबार मधेश प्रदेशको बर्दिवासमा सम्पन्न भेलाले प्रदेश सरकारबाट तत्काल मन्त्रीहरु फिर्ता बोलाउन माग गरेको छ ।
नेपाली कांग्रेसले मधेश प्रदेशमा आलोपालो सहमति अनुसार सरकारको नेतृत्वमा दाबी गरिरहेको बेला असन्तुष्ट पक्षले मन्त्रीहरुलाई फिर्ता बोलाउन माग गरेको छ । असन्तुष्ट पक्षमा ४ जना सभासद रहेका छन् । संस्थापन पक्षबाट कोइराला गुटमा प्रवेश गरेका पूर्वमन्त्री समेत रहेका प्रदेश सांसद रामसरोज यादवको अध्यक्षतामा भएको भेलामा आठ वटै जिल्लाका कोइराला पक्ष नेताहरुको सहभागिता रहेको थियो ।

भेलामा सहभागीहरुले संस्थापन पक्ष एकपक्षीय रुपमा बजेट लगायतका कामहरु गरेको आरोप लगाउँदै प्रदेशमा नेपाली कांग्रेस सरकारमा रहेको अनुभूति समेत आफूहरुले गर्न नसकेको दुःखेसो पोखे । केही महिना पूर्व गुट परिवर्तन गरेका सांसद यादवलाई कोइराला समूहले मधेश प्रदेशको संयोजकको जिम्मेवारी दिएको छ । उनी मधेश प्रदेशको अधिवेशनमा सभापति पदमा पराजित भएका थिए । त्यस बेला पनि उनलाई कोइराला समूहले समर्थन गरेको थियो । तर पनि उनी लामो समय संस्थापन पक्षमा नै रहेका थिए ।
शेखर समूहले संघीय सरकारप्रति तीव्र असन्तुष्टि जनाइ रहेका बेला मधेश प्रदेश सरकारमाथि समेत नेता यादवले आक्रोश व्यक्त गर्दै असन्तुष्टि पोखेका छन् । सो भेलामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको बारेमा समेत व्यापक छलफल गर्दै प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउन माग गरिएको कांग्रेस मधेश प्रदेशका सदस्य जीवनाथ चौधरीले बताएका छन् ।
जनमत पार्टी नेतृत्वको सरकारमा कांग्रेसतर्फबाट सहभागी भएका मन्त्रीहरुले जनभावना विपरीत कामकारबाही गरिरहेको र अवैधानिक कार्यहरुमा लिप्त भइ कांग्रेसको अस्तित्वलाई धराप पार्ने गरी कमिसनको खेलमा लागेको आरोप लगाउँदै तत्काल ती मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्ने भेलाबाट माग गरिएको नेता चौधरीले बताए ।
वर्तमान गठबन्धन सरकार जनताको हितमा काम नगर्दा नेता तथा कार्यकर्ताहरुसमेत सरकार र मन्त्रीको गतिविधिबाट असन्तुष्ट रहेको उनको कथन थियो । संघीय सरकार र प्रदेश सरकारको औचित्यतामाथि समेत विभिन्न प्रश्न खडा भइसकेको र सरकार स्वयम् भ्रष्टाचारलाई मलजल गर्न लागिपरेकाले अहिलेको दुबै सरकारको नेतृत्व तत्काल परिवर्तन गर्न भेलाले माग गरेको जनाइएको छ ।
प्रदेशस्तरीय भेलामा प्रदेशको आठवटै जिल्लाबाट नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो । संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको विशेष आतिथ्यतामा भएको भेलाबाट कांग्रेसको १५ औँ महाधिवेशन अविलम्ब गराउनका लागि मधेश प्रदेशबाट शेखर समूहको संयोजन रामसरोज यादवले गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
सो भेलाले अविलम्ब महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । सो भेलामा कांग्रेसको संगठनात्मक सुदृढीकरण, महाधिवेशनमा शेखर पक्षको जित सुनिश्चित गर्नका लागि आवश्यक रणनीति निर्माण, जिल्ला तथा प्रदेशस्तरीय सञ्जाल विस्तार, अनुशासन निर्माणलगायत विषयमा पनि गम्भीर छलफल भएको नेता चौधरीले बताए ।
सो भेलामा संविधानसभा सदस्य अमात्यले पार्टीमा देखिएको वर्तमान संकट समाधान गर्न र मधेशमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउन शेखर कोइरालाको नेतृत्व अपरिहार्य भएको बताए । भेलामा मधेश प्रदेश भित्रको सांगठनिक अवस्था, तीन तहका सरकारहरूको कामको समीक्षा तथा सुख्खा र जल व्यवस्थापन जस्ता क्षेत्रीय समस्याबारे पनि व्यापक छलफल भएको थियो ।
भेलामा संविधान सभा सदस्यहरू लक्ष्मण राय, रामचन्द्र चौधरी, नरेश प्रसाई, कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, केन्द्र प्रतिनिधि देवराज चालिसे, नेता गुरुराज घिमिरे, पूर्वमन्त्री अजय द्विवेदी, प्रदेशसभा सदस्य श्याम पटेल, कांग्रेस धनुषाका उपसभापति गणेश झा, कांग्रेस बाराका उपसभापित मनोज भट्ट, प्रदेशसभा सदस्य जिवछी यादव, लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवलगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मधेश प्रदेशको राजनीतिक सन्दर्भमा सो भेलाले केवल एक पक्षीय जमघट मात्र नभएर आगामी महाधिवेशनमा डा. कोइरालालाई नेतृत्वमा ल्याउने अभियानको संगठित थालनीका रूपमा हेरिएको छ । सो भेलाहरू अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्दै कांग्रेस भित्र वैकल्पिक विचार, अनुशासन र संगठनको सुदृढीकरण गर्ने लक्ष्य तय गरिएको नेताहरुले दाबी गरे ।
डा.कोइराला पक्षधरहरुको भेलाले संस्थापन पक्षमा हलचल ल्याएको छ । संस्थापन पक्ष मधेश प्रदेशमा समेत कयौं गुट देखिएका छन् । केन्द्रीय तहमा सभापति शेरबहादुर देउवा निकट नै रहेको बताइए पनि मधेश प्रदेशमा सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा मधेश प्रदेश सभापति कृष्णा यादवसहितको वर्चस्व भएको गुट रहेको छ । त्यसमा आनन्द प्रसाद ढुंगाना लगायतका प्रभावशाली नेताहरु छन् ।
अर्को गुट विमलेन्द्र निधिको रहेको छ । मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंह , सुरेन्द्र सिंहलगायतको छुट्टै गुट रहेको बताइन्छ ।