
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् ।
बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन् ।

पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको उनले बताइन् । अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको उनको भनाइ छ ।
श्रेष्ठले आफू निरन्तर काममा हिँडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर गरिन् ।