२०८२ श्रावण १६, शुक्रबार १६:२०

मधेस सरकारले साउन ६ गते मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसपछिका दिनमा किसानका लागि ठोस राहत कार्यक्रम ल्याउन नसकेको भन्दै विपक्षी दलहरूले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

जसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रतिनिधिहरूको टोलीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।



ध्यानाकर्षण पत्रमार्फत विपक्षी दलहरूले किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न, कृषि ऋणमा सहुलियत दिलाउन संघीय सरकारसँग समन्वय गर्न, तत्काल सिँचाइको व्यवस्था गर्न र मल–खाद्य वितरणमा पारदर्शिता कायम गर्न माग गरेका छन् । त्यस्तै, सतही तथा भूमिगत जलस्रोतको उपयोगका लागि नदी, नाला, पोखरी लगायतका जलाशयहरूको मर्मत तथा नयाँ जलाशय निर्माण, चुरे वन क्षेत्रको संरक्षण र खानेपानीको समस्या समाधान गर्न विशेष पहल गर्न आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा जसपा नेपालका सरोज यादव, माओवादी केन्द्रका युवराज भट्टराई, एकीकृत समाजवादीका कनिष पटेल, राप्रपाका कञ्चन विच्छा र संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम सहभागी थिए ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले विपक्षी दलहरूको सुझावलाई सरकारसँगको सहकार्यको रूपमा लिएको बताउँदै सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए । उनले सिँचाइ तथा खानेपानी समस्या समाधान गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै वर्षेनि खडेरीका कारण धान उत्पादन घटिरहेको भन्दै वैकल्पिक बालीको विषयमा पनि सरकार गम्भीर छलफलमा रहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News