
मधेश प्रदेशमा सुख्खा र पानीको अभावका कारण उत्पन्न संकट समाधान गर्न प्रमुख प्रतिपक्षी दलहरुले मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।
जनकपुरधाममा शुक्रबार जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वमा प्रतिपक्षी दलका नेताहरुले मुख्यमन्त्री सतीशकुमार सिंहलाई भेटघाट औपचारिक ध्यानाकर्षण पत्र बुझाएका छन् । सो ध्यानाकर्षण पत्रमा प्रदेशका सुखाग्रस्त क्षेत्रहरूमा सिचाइँको तत्काल व्यवस्था, कृषि ऋणमा छुट, मलखादको न्यायोचित वितरण, तथा खानेपानीको अभाव समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ ।

प्रतिपक्षी दलहरुले जलस्रोत संरक्षणका दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिपक्षी दलहरुले नेपालको जीवनरेखा रहेको चुरे क्षेत्रको दोहन रोक्नुपर्ने, जलाशय निर्माण गर्नुपर्ने र सतही तथा भूमिगत सिचाइँ योजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेसहितका माग गरेका छन् । सो ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मधेश प्रदेशलाई दीर्घकालीन रूपमा जलसंकटबाट जोगाउन चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापन अनिवार्य छ । सरकार मौन बस्न पाउँदैन ।’
मुख्यमन्त्री सिंहलाई बुझाइएको ध्यानकर्षण पत्रमा कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानसम्बन्धी जारी गरिएको सूचना झञ्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै, सबै पालिका समेटिने गरी पारदर्शी प्रक्रिया अपनाउन सरकारसंग प्रतिपक्षी दलहरुले माग गरेका छन् । सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, ‘वीरञ्ंजलगायत तराई मधेशका थुप्रै ठाउँहरुमा खानेपानीको सतह तल गइ धाराहरुमा पानी आउन नसकेका कारणले खानेपानीको समस्या विकराल बन्दै गएको छ ।
प्रदेश सरकार तथा संघीय सरकार तराई मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि सरकारको तर्फवाट न त किसानहरुले सिचाँईका लागी राहत पाउन सकेका छन न खानेपानीको समस्या नै समाधान हुन सकेको छ । सरकारको निर्णय आश्वासनमा मात्र सिमित रहेको छ ।’ पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेशलाई अन्नको भण्डार भनिए पनि अहिले सुख्खा संकटमा परेका किसानहरू गम्भीर समस्यामा रहेको बताए ।
नेता यादवले भने, “अबिलम्ब राहतको व्यवस्था नगर्ने हो भने हामी चुप लागेर बस्ने छैनौं। किसानको पीडामा राजनीति गर्न चाहँदैनौं, तर समाधान नआए हामी सडकमा उत्रिन बाध्य हुनेछौँ ।” सो ध्यानाकर्षण पत्र बुझाउने क्रममा पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका उपनेता युवराज भट्टराई, नेकपा एकीकृत समाजवादी मधेश प्रदेशका प्रदेश सांसद कनिष पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश प्रदेशकी प्रदेश सांसद कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुमसमेतको सहभागिता रहेको थियो ।
मधेश प्रदेशमा पछिल्ला केही वर्षदेखि बाढी– डुबानका साथै अहिले सुख्खा र पानीको अभाव गम्भीर समस्या बन्दै गएको छ । वीरगञ्ज लगायत मधेश प्रदेशका विभिन्न सहरहरु तथा ग्रामिण क्षेत्रमा खानेपानीको चरम अभाव देखिएकोले अविलम्व खानेपानीको लागि आवश्यक व्यवस्था गर्नुपर्ने, अन्नदाता किसानहरुको फसलको लागि कृषि ऋण तथा खेती गर्न आवश्यक पर्ने कृषि यन्त्र सामग्रीहरु विशेष सहुलियत स्वरुप अनुदानमा उपलव्ध गराउनुपर्ने, तराई मधेशमा चुरेको दोहन हुनेगरी ढुंगा, गिटी, बालुवा झिक्ने कार्य तथा अवैध क्रसर उद्योग संचालन गर्ने कार्य तराई मधेशको भुमी मरुभुमीमा परिणत गरिरहेकाले यस्ता कार्यलाई तत्काल रोकिनुपर्ने, अधुरो सतही सिचाइँ तथा भूमिगत सिचाइँ डिप ट्युवेल जडान भएर पनि संचालन हुन नसकेकालाई अविलम्ब संचालनमा ल्याउनुपर्ने, यसका साथै कृषि विद्युतिकरण गर्ने कार्यलाई अविलम्व प्राथमिकतामा राखि अगाडि बढाउने कार्य गरिनुपर्ने सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
जलवायु परिवर्तन, चुरे दोहन, नदीनालाको दोहन, कमजोर नीति तथा स्रोत व्यवस्थापनको अभावले गर्दा कृषि उत्पादनमा गिरावट, खानेपानी संकट र किसानको जीवनयापनमा कठिनाइ बढ्दै गएको छ । प्रतिपक्षी दलको यो संयुक्त ध्यानाकर्षणले प्रदेश सरकारलाई समाधानतर्फ ठोस नीति र योजनासहित कदम चाल्न राजनीतिक दबाब सिर्जना गरेको देखिन्छ ।
यस्तै संघीय सरकारले मधेश प्रदेशलाई सुख्खाग्रस्त संकट क्षेत्र घोषणा गरे पनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाण्डुमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र मधेश प्रदेश सरकारले डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् ।
चुरे संरक्षणमा जोड दिनुपर्ने भन्दै उनीहरुले सुख्खा प्रभावित किसानहरुलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न माग गरेका छन् । ती युवाहरुले किसानलाई २४ घण्टा निःशुल्क बिजुली उपलब्ध गराउनुपर्ने, तराई–मधेशका किसानलाई नगद क्षतिपूर्ति दिनुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।