
बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ ।
नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुरुआत गरेको हो ।

राप्ती नगरपालिका–१ लोथरको झन्डै २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ ।
आईओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ ।
अमलेखगञ्जबाट लोथरसम्मको दूरी ६२ किलोमिटरमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ ।
परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको कार्यान्वयन शुरू भएको बताउनुभयो ।
सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको र आजदेखि नै सडक निर्माण गर्ने, आइओसीसँग समन्वय गर्ने काम शुरू हुने उहाँले जानकारी दिनुभयो ।
यो परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी छ । यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने बताउनुभयो ।
निगमका उपनिर्देशक रामहरि निरौलाले निर्धारित समयमै परियोजना सम्पन्न हुने उल्लेख गर्दै टयाङ्करबाट इन्धन ढुवानी गर्ने समय विस्तारै हट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना कार्यान्वयनमा आउँदा स्थानीयवासी खुशी भएको बताउनुभयो ।
पाइपलाइनबाट दुई सय ७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ ।
पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ ।
यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टीतेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयाङ्की निर्माण गरिनेछ ।
यसै हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ ।
लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत १४ अर्ब नौ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान छ ।