२०८२ श्रावण १८, आईतवार ०७:३९

जनकपुरधाम आलु प्याज व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधाममा शनिबार आयोजित एक कार्यक्रमकाबीच आलु प्याज व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गरेका छन् । मो. अलाउदीन राइनको अध्यक्षतामा सम्पन्न भएको सो शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरज साह, सचिव मनोज साह, सह–सचिव संजय साह तथा कोषाध्यक्ष सिकेन्द्र साहलगायतका पदाधिकारीहरुले शपथ ग्रहण गरेका थिए ।



सो कार्यक्रममा नेकपा एमालेको नेतृ जुलीकुमारी महतोले जनकपुरधामलगायतको क्षेत्रमा बजार व्यवसाय धाराशायी भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् । पूर्वमन्त्रीसमेत रहेकी नेतृ महतोले स्थानीय ग्राहक सीमा पारी गएर सामान किन्ने परिपाटी बढ्दै गएपछि यहाँको बजार व्यवसायमा समस्या बढ्दै गइरहेको बताइन् ।

नेतृ महतोले जनकपुरधाम मधेशको राजधानी रहेकाले पनि यहाँको बजार व्यवसायलाई जोगाउनु सरकारको पनि कर्तव्य रहेको बताइन् । उनले यसका लागि सरकारले व्यापारीहरुलाई के सहुलियत दिनुपर्ने, अनुदान दिएर हुन्छ वा के गरेर हुन्छ बजार व्यवसाय यहाँको बचाउनै पर्नेमा जोड दिइन् ।

यसका साथै पछिल्लो समय खडेरीका कारण धान उत्पादनमा ह«ास आउने सम्भावना रहेको हुँदा यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले अहिलेदेखि नै आलु प्याजसंगै धान, चामलमा यस वर्ष पर निर्भरता बढ्ने लगभग निश्चित रहेको अवस्थामा आलु प्याज व्यवसायीहरुलाई उनले हामी आलु प्याज जस्ता उपभोग्य खाद्यवस्तुमा कसरी आत्मनिर्भरतातर्फ ध्यान दिन आग्रह गरिन् ।

सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले स्थानीय व्यापारीहरुको सुखदुःखमा सदैव साथ र सहयोग रहने बताए । उनले यहाँको बजार व्यवसायलाई उकास्नकालागि सरकारले नयाँ योजना ल्याउनु आवश्यक रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष सुरज साहले आलु प्याज व्यवसायलाई जनकपुरधाममा व्यवस्थित बनाउनुका साथै मूल्यमा एकरुपता ल्याइने बताए ।

Comment


Related News

Latest News

Trending News