
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार मानिसको हत्याराको आरोप लगाएर माओवादीलाई बद्नाम गराउने कसरत अझै पनि जारी रहेको बताएका छन् । उनले पार्टीभित्र विभाजन ल्याउन अनेक षड्यन्त्र भइरहेको उल्लेख गर्दै नेपालमा फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने चेतावनीसमेत दिएका हुन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले द्वन्द्वकालीन सहिदका सपना पूरा गर्न र उनीहरूका परिवारको उचित सम्मान गर्न पार्टीबाट कमजोरी भएको स्वीकार गरे । उनले भने, ‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ ।’

विगतको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले महान् सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटि गर्यौँ । हाम्रा सहिद परिवारका दुःख, पीडा, मर्का जति नजिकबाट हेर्नुपर्ने थियो, त्यसमा र हाम्रा वर्ग-समुदाय, जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ ।’
यही निष्कर्षका आधारमा पार्टी अब पुनः आफ्नै वर्ग, सहिद तथा बेपत्ता परिवारसँग जोडिने संकल्पका साथ अघि बढेको उनको भनाइ थियो । ‘त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एकपटक हाम्रो वर्गतिर नै जोडिने, सहिद-बेपत्ता परिवारहरूसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ,’ उनले भने ।
अध्यक्ष प्रचण्डलले प्रतिक्रियावादी शक्तिहरूले पार्टीलाई कमजोर पार्न षड्यन्त्र गरिरहेको बताउँदै सहिदका सपनालाई सम्झिँदै अघि बढ्ने जमर्को गरेको बताए । उनले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्दै भने, ‘फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान् सहिदहरूका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ ।’