मधेश प्रदेश र कोशी प्रदेशको सीमामा रहेको सप्तकोशी नदीमा आइतबार बिहानदेखि निरन्तर पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ ।
आइतबार साँझसम्म मापनअनुसार पानीको बहाव एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमअनुसार अहिले ५६ वटा ढोकामध्ये २६ वटा खुला गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जनाएअनुसार अहिलेसम्म कोशी नदीमा पानीको बहाव बढे पनि कुनै समस्या भने छैन ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्न खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिएको जनाइएको छ । दुई लाख काट्ने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बाल्ने गरिन्छ । पानीको बहाव तीन लाख काट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ ।
कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्यूसेक पानी भारवहन क्षमता हुने उल्लेख छ । तर ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको बहाव चार लाखभन्दा मुनि नै रहेकाले कुनै अनुमान लगाउन सकिने अवस्था छैन ।
२०६५ भदौँ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पनि पसेको थियो । त्यसबेलामा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए ।



