२०८२ श्रावण १९, सोमबार ०७:१४

सात दलीय नेतृत्वमा गठन गरिएको संघीय लोकतान्त्रिक मोर्चाले थालेको जागरण अभियान शुरु नहुँदै जनमत पार्टीले मोर्चासंगको सम्बन्धविच्छेद गरेको छ । मधेश केन्द्रित सात दलीय मोर्चाको जनजागरण अभियानमा जनमतका अध्यक्ष डा.सीके राउत सहभागी नभएपछि सम्बन्ध विच्छेदको चर्चा चुलिएको छ ।

रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा जनमतलाई उम्मेदवारी नदिँदा मोर्चाबाट अलग्गिएको संकेत दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीसंग निकटता बढाउनतर्फ प्रयासरत रहेको स्रोतले जनाएको छ । काठमाण्डुबाट आइतबारदेखि शुरु भएको एक महिने जनजागरण अभियानबाट वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउनका लागि सात दलीय मोर्चाले अभियान थालेको जनाएको छ ।



मोर्चा आवद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेशी, जनजातीलगायत पछि पारिएका समुदायलाई उपेक्षा गरेको जनाउँदै सबैलाई साझा अधिकार प्राप्त नभएमा विद्रोह चेतनावीसमेत दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले दलहरूले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताएका छन् ।

संविधान बनाउनेहरूबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ । अध्यक्ष ठाकुरले मधेशी समुदायहरूले बराबरको अधिकार पाउन नसकेको भन्दै सबै मिलेर राज्यलाई दबाब दिनुपर्ने धारणा राखे । त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने चेतावनी दिए । उनले सुकुम्बासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानुन बनाउन खोजेको आरोपसमेत लगाए ।

अध्यक्ष यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको स्पष्ट पारे । त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए । उनले देशका सबै ठाउँमा बस्ने सबै समुदायको साझा हुने गरी देशलाई अघि बढाउनुपर्ने बताए । उनले सबैलाई स्वीकार्य हुने गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन नहुने बताएका छन् । उनले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको स्पष्ट पारे । उनले सबैतिरबाट लालच राख्यो भने लालचकै पोखरीमा डुब्ने बाहेक केही नहुने बताए ।

अवहेलनाकाबीचमा कसरी सम्मानित हुने भन्ने सोच्नुपर्ने उनले बताए । पहिला आफू सच्चिने र जनताका लागि त्याग गर्न सकिन्छ की सकिँदैन भन्ने सोच्न उनले आग्रह गरे । संरक्षक चौधरीले भने, ‘हामीले अब ढिलो गर्नुहुन्न । निर्णय लिएपछि ठोस निर्णय लिनुपर्छ । सबैतिरबाट लालच नै राख्यो भने लालचकै पोखरीमा डुब्छौँ । अन्ततोगत्वा त्यसले हामीलाई मृत्यु मात्रै दिन्छ । हामी अब धेरै अपहेलित भइसक्यौँ ।

मोर्चाका साथीहरूले विशेषतः सोच्नुपर्छ । हामी यो अवहेलनाका बीचमा सम्मानित कसरी हुने धेरै महत्त्वपूर्ण निर्णय गर्नुपर्छ । जनताले पत्याउने कसरी बन्ने त्यसमा अघि बढ् नुपर्छ । पहिला आफू सच्चिएर जनताका निम्ति त्याग गर्नुपर्छ । जिन्दगीभर जनतालाई न्याय दिन तयार छौँ की छैनौँ यसको हेक्का राख्नुपर्छ । अब हुने चुनावमा पनि देखिन्छ कत्तिको जनताले पत्याउँछन् । धेरै पछि एउटै मोर्चामा हामी उनिएका छौँ ।

अहिले जुटेका छौँ । फेरि छुट्ने, फुट्ने प्रयत्न नगरौँ । एक भएर अघि बढ्ने प्रयत्न गरौँ ।’ यसैबीच कार्यक्रम चलिरहँदा सो अभियानमा जनमतबाट कोही पनि सहभागी नभएपछि विभिन्न अड्कलबाजीसमेत भएको छ । असार १२ गते बसेको मोर्चाको बैठकबाट रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय भएको थियो । तर त्यहाँ हुन लागेको उपनिर्वाचनको टिकट जनमतले नपाउँदा राउत सो निर्णयको विपक्षमा गएर अलग्गै उम्मेदवार उठाउने गरेसंगै उनी सो मोर्चाबाट अलग भएको रुपमा पनि अथ्र्याउन थालिएको छ ।

त्यसयता सो पार्टी मोर्चाको कुनै पनि गतिविधिमा सहभागी भएको देखिएको छैन । मोर्चाले काठमाण्डु, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरधाम र वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । सो कार्यतालिका अनुसार समेत जनमत पार्टीलाई कुनै पनि किसिमको जिम्मेवारी दिइएको छैन ।

गत चैतमा घोषणा भएको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

Comment


Related News