२०८२ श्रावण २०, मंगलवार ०७:५४

लुटपाट गर्दै गोली हानी हत्या गरेको घटनामा सप्तरी प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको सुरुंगा नगरपालिका ८ स्थित मलहनमा टोलका ६५ वर्षीय कन्तलालको हत्या गर्दै घरमा लुटपाट गर्ने गिरोह र लुटपाटको सामान किनबेच गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।



सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले गत जेठ २३ गते राति डाँकाहरुको समूहले चौधरीको घरमा लुटपाट गर्दा डाकाहरुलाई चिनेको भनेपछि गोली हानी हत्या गरेको मृतकको श्रीमतीको बयानलाई उद्धृत गर्दै जनाएका छन् ।

सो घटनामा प्रहरीले लुटपाट गर्ने सुरुंगा– ८ का २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, बोदेबसाईन नगरपालिका– २ का २० वर्षीय दीपेन मरिक, खडक नगरपालिका– ११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका– ८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नगरपालिका– १ का २८ वर्षीय चन्दर मरिकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै लुटपाटको गरगहनाहरु संकलन गरी बेचबिखन गर्ने सुरुंगा– ७ स्थित पोखरिया बसनपट्टीका ३३ वर्षीय राजु कुमार विश्वकर्मा, विश्वकर्माले सुन चाँदीको गरगहना गलाउन दिएका सिरहाको लहान नगरपालिका– ७ स्थित सञ्चालित श्रद्धा सुन चाँदी गलाई सेन्टरका सञ्चालक ५२ वर्षीय महेन्द्र गोड्से, सुन चाँदी खरिद गर्ने ओम ज्वेवर्सका सञ्चालक सिरहाको लहान– ८ का ३८ वर्षीय उमेश साह सोनारलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

लुटपाट तथा हत्यापछि सप्तरी प्रहरीले विशेष सुराकीको आधारमा राजु कुमार विश्वकर्मालाई गत शुक्रबार नियन्त्रणमा लिएपछि घटनामा संलग्नहरुको नाम एवं पहिचान खुलेको प्रहरीले जनाएको छ । विश्वकर्माले आरोपितहरुको नाम भन्दै गरगहनाहरु बेचेको भनेपछि उनीहरुलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा चोरी गरेको बेचेको स्वीकार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News