
अस्ट्रेलियामा अर्को महिना हुने टप एण्ड टी–२० शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने बङ्गलादेश ‘ए’ को टोली घोषणा भएको छ ।
बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले हिजो प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो । नुरुल हसन सोहनको कप्तानीमा घोषित टोलीमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका धेरै खेलाडी अटाएका छन् ।

टोलीमा बङ्गलादेशका लागि तीनै फर्म्याटको क्रिकेट खेलेका खेलाडीहरू रहेका छन् । नेपालले साउन ३१ गते बङ्गलादेश ‘ए’ टाेलीसँग खेल्नेछ ।
नेपालले हिजो मात्र रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको थियो । लगातार दोस्रो संस्करणमा सहभागी बङ्गलादेश ‘ए’ शृङ्खलाको साविक उपविजेता हो ।
नेपालले भने पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । एनटीको आयोजनामा हुने टप एण्ड टी–२० शृङ्खलामा ११ वटा टोलीको सहभागिता रहनेछ ।