
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् ।
मंगलबार राति भएको घटनामा ३६ वर्षीय लालु यादवको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रहरीका अनुसार भारतीय सीमा नजिकै रहेको क्षेत्रमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा ‘सर्च अपरेशन’ चलाइएको थियो । अपरेशनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार गोली तिघ्रामा लागेका यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यता मृतकका आफन्त र स्थानीयले भने फरक आरोप लगाएका छन् । राजगढ–१ का दीपेन्द्र यादवले प्रहरीको गोलीबारे भिन्न दाबी गर्दै भने, प्रहरीले लालुलाई पहिला बोलायो, त्यसपछि सामान्य विवादमा नियन्त्रणमा लिई खेतमा लगेर गोली हानेको हो । दोहोरो झडप नै भएको थिएन ।
मृतकका ज्वाइँ तथा प्रदर्शनमा सहभागी संजीवनारायण यादवले लालु यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको र उनले लाइसेन्स लिएर व्यवसाय गरिरहेको दाबी गरे । “निहत्था व्यक्तिलाई नियन्त्रणमा लिएर गोली हान्नु अमानवीय हो,“ उनले भने ।
प्रहरीले सोही स्थानबाट विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरिएको जनाएको छ । घटनास्थल भारतको सीमासँग सटेपछि तस्करी रोक्न प्रहरीले नियमित निगरानी बढाएको पनि प्रहरीले बताएको छ ।
घटनापछि थप तनावको स्थिति सिर्जना भएको छ। जिल्ला प्रशासन र स्थानीय सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन पहल गरिरहेको जनाइएको छ ।
मृतकका आफन्तले गोलीकाण्डको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गरेका छन्। घटना सार्वजनिक भएपछि मानवअधिकारकर्मी, नागरिक समाज र विभिन्न दलका प्रतिनिधिहरूले पनि घटनाप्रति चासो व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।