२०८२ श्रावण २१, बुधबार १३:०७

डुमरियास्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिजको मुख्य गेट अगाडि मंगलबार किसानहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।

उखु उत्पादक संघ रौतहटको नेतृत्वमा भएको उक्त प्रदर्शनमा अध्यक्ष अशोक यादवसहित सयौं किसानको सहभागिता थियो । उनीहरूले “सरकारले दिने भनिएको अनुदान तुरुन्त उपलब्ध गर”, “७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दे”, “अनुदानमा गरिएको ३५ रूपैयाँ कटौती खारेज गर” भन्ने नारासहित आक्रोश पोखेका थिए ।



किसानहरूले सरकार, उद्योग र व्यापारी बीच त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२/८३ का लागि उखुको मूल्य निर्धारण गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा बाँकी रहेको अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने अडान लिएका छन् ।

प्रदर्शनमा सहभागी नेताहरूले सरकारको बेवास्ताविरुद्ध राजधानी केन्द्रित आन्दोलनको चेतावनीसमेत दिएका छन् । नेपाली कांग्रेसका कुमार चौलागाई, एकीकृत समाजवादीका रामभरोस यादव, जसपाका राजकुमार दास तत्मा र संघ अध्यक्ष अशोक यादवले काठमाडौंको माइतीघर मण्डलामा भदौ ८ गतेदेखि धर्ना दिने घोषणा गरेका छन् ।

उखु किसानको समर्थनमा उद्योग सञ्चालकको आवाज पनि मिसिएको छ। बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले सरकारले पूर्ण अनुदान नदिए उत्पादन घट्ने र उद्योगहरू आधा क्षमतामै सीमित बन्ने अवस्था आउने चेतावनी दिए । उनले भने, “सरकारले ७० रूपैयाँमा कटौती गर्दै ३५ रूपैयाँ मात्र दिने निर्णय किसानलाई अस्वीकार्य छ। यो आर्थिक वर्षदेखि त अनुदान नै हटाइएको छ ।”

संघका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा सरकारले दिने भनिएको करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान अझै बाँकी छ । चिनी उद्योगहरूले किसानलाई मूल्य तिरे पनि सरकारले दिने अनुदान रोकिएको किसानहरूको गुनासो छ ।

नेपाल उखु उत्पादक महासंघको हरिवन, सर्लाहीमा बसेको बैठकपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । पहिलो चरणमा साउन १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाइएको थियो, भने दोस्रो चरणमा साउन २० गते चिनी मिल अगाडि प्रदर्शन गरिएको हो ।

संघले सरकारद्वारा माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आन्दोलनले फेरि एकपटक सरकार, उद्योग र किसानबीचको सम्बन्धलाई परीक्षणमा ल्याएको छ । किसानको माग तत्काल सम्बोधन नभए देशव्यापी आन्दोलन चर्किने संकेत मिलेको छ ।

Comment


Related News

Latest News

Trending News