
सिरहाको नरहा गाउँपालिका–३ काे चोहर्वा–सिराहा सडक खण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ का ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल रहेका छन् । उनीहरू एकै मोटरसाइकलमा सवार रहेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको हाे ।
पक्राउ परेका तीनै जनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो ।