
सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए।

फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ स्थित हरकठ्वाका निसार शेखका छोरा छन् । घटनापछि उनलाई तत्कालै संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो।
तर चिकित्सकले बेलुकी ७ बजे उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरी प्रवक्तासमेत रहेका डीएसपी सरोजकुमार राईले बताए । दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक निरन्जन भट्टराईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
प्रहरीले बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।