
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनताले चाहेको खण्डमा अहिलेको शासन सत्ता एकैछिनमा ढल्ने बताएका छन् ।
संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा शनिबार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘ जनजागरण अभियान’ कार्यक्रममा बोल्दै उनले अधिकार र पहिचानका लागि थारु र मधेशका सयौं सपुतले बलिदानी दिए पनि अधिकारी पाउन नसकेको बताए ।

अध्यक्ष ठाकुरले भने, ‘ अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए तर हामीले अधिकार पाएनौं ।’
वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र पनि ढलेको बताउँदै जनताले चाहे अहिलेको शासन सत्ता पनि ढल्ने उनले बताए । अध्यक्ष ठाकुरले भने, ‘ जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ ।’
उनले देशमा संघीयता आए पनि अधिकार भने नपाएको गुनासो गरे ।