
प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशे वर्षाको निर्भरता अन्त्य गरी तराईमा सिचाइँको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमार्फत् खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा र सरकारको तत्काल तथा दीर्घकालीन समाधानका लागि गरिएका कदमबारे जानकारी दिए ।
केही साता अघि मात्रै प्रधानमन्त्री ओलीले आकाशे मार्गको माध्यमबाट मधेशको अवलोकन गर्दै महोत्तरी र बारास्थित कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीलाई किसानसंग भेटेर कुराकानी गर्ने इच्छा पूरा नभए पनि आकाशबाट खेतको अवस्था देखेर उनी भाव विभोर भएका थिए । त्यतिबेला उनले तत्कालै मधेशमा पाँच समय डिपबोरिङ जडान गर्न निर्देशन दिएका थिए ।

सो निर्देशन अनुसार डिपबोरिङ जडानको काम अघि बढ्ने क्रममा सिचाइँका लागि खेतमा विद्युतीय पोल जडान र डिपबोरिङ जडानको लागि समेत अध्ययन र अवलोकन गर्न नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्र शाक्य पनि जनकपुरधाम आएर प्राधिकरणका कर्मचारीसंग समेत छलफल गरेका थिए ।
अर्कोतर्फ डिपबोरिङ जडानको कामका लागि पनि मधेश प्रदेश सरकारले पनि आन्तरिक कार्य थालिसकेको छ । सरोकारवाल निकाय सक्रिय हुँदै डिपबोरिङ जडान गर्ने स्थानका लागि वडा वडामा गएर छलफल तथा अनुगमनसमेत मधेश प्रदेश सरकारले थालेको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सुनकोशी–मरिन डाइभर्सनको कामको समेत अवलोकन गर्न पुगेका थिए । तर सो कामकारवाहीहरु अघि बढिरहँदा केही समयदेखि मधेश प्रदेशमा पनि पानी पर्न थालेपछि किसानहरुले सरकार र सरोकारवाल नियकाको मुख ताक्न छाडेर आकाशे पानीकै भरमा खेतीपातीमा व्यस्त छन् ।
प्रधानमन्त्री ओलीले समेत मधेश प्रदेशको समस्याप्रति गम्भीर्यता देखाउँदै तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम शुरू गरिएको जनाएका छन् भने दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यसवर्षको खडेरीले अन्नको भण्डार मानिने तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आउनु दुःखद् भएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उल्लेख गर्दै लेखेका छन्, ‘यसवर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो, जहाँ रोपाइँ भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको थियो’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो । तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम शुरू गरिएको थियो र दीर्घकालीन समाधानका लागि सुनकोशी– मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ ।’ उनले पछिल्ला दिनमा परेको वर्षाले तराईमा फेरि हरियाली फर्काउन थालेको उल्लेख गर्दै साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउने आशा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ, वर्षाले फेरि हरियाली फर्काउन थालेको छ, यही साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ’, आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिचाइँको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘अब त्यो दिन धेरै टाढा छैन, किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्य– हाम्रो लक्ष्य हो, जय किसान ।’तर ढिला गरी मधेशमा पानी पर्ने क्रम शुरु भएपछि किसानहरु धान रोपाइँमा अहिले केही दिनदेखि व्यस्त हुँदै रमाइरहेका छन् ।
एक किसानले मधेश प्रदेश सरकारदेखि संघीय सरकारसम्मले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि राहतस्वरुप कुनै पनि किसिमको कदम चाल्न नसक्नु दुःखद रहेको बताए । जनता समाजवादी पार्टी नेपालका प्रवक्तासमेत रहेका प्रदेश सांसद मनिष सुमनले कुनै पनि सरकारले समयमा किसानको समस्या सम्बोधन गर्न नसकेको प्रति खेद प्रकट गरेका छन् । किसानको लागि उग्र कुरा गर्ने जनमत सरकारले समेत मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि किसानलाई कुनै पनि किसिमको राहत उपलब्ध गराउन नसक्नु उसको असलियत चेहरा किसानका सामु स्पष्ट भएको टिप्पणी गरे ।
धनुषाको हँसपुर नगरपालिकाका किसान जंगलबहादुर साहले सरकारले कुनै बेला विभिन्न ठाउँमा गाडेको डिपबोरिङ अहिले सञ्चालनमा नरहेको भन्दै सो डिपबोरिङ नै सञ्चालनमा ल्याउन माग गरे । उनले कतिपय ठाउँमा गाडिएको डिपबोरिङबाट हामीलाई खेतमा सिचाइँको लागि जग्गाधनीले नदिँदा निकै समस्या भइरहेको गुनासो गरे । उनले सरकारले आफ्नो मान्छेलाई खोजी खोजी दिने गरेको डिपबोरिङले किसानलाई स्थायी समाधान नहुने गरेको बताए ।
उनले कोशी नदीको पानीलाई कमला नदी हुँदै विभिन्न नहर निर्माण गरी पानी ल्याउँदा डिपबोरिङको समेत आवश्यकता नरहेको भन्दै यसतर्फ सोच्न आग्रह गरे ।