२०८२ श्रावण २७, मंगलवार १६:४४

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधि सभाको रोष्टमबाट खतिवडाले समिति सभापतिको पदबाट राजीनामाको घोषणा गरेका हुन्।

‘निजामती विधेयक (कुलिङ पिरियड) मा जुन दिन त्रुटि भएको बाहिर आएको थियो, त्यसै दिन मैले गाडीलगायत सुविधा बुझाइसकेको थिएँ,’ खतिवडाले भने, ‘२ वर्षे कुलिङ पिरियड राख्नुपर्छ भनेर सुरूदेखि नै मैले अडान लिएको थिएँ, समितिले पनि अडान लियो र समितिबाट पारित गरेर संसदमा पठाइएको थियो।’



विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको देखिएको उनले बताए। ‘मबाट र समितिबाट त्रुटि भएको होइन,’ उनले भने, ‘यस्ता त्रुटि अब अन्तिम हुनेछन् भन्ने विश्वास छ।’ विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीको चलखेल भएको उनले बताए।

उनले यस विषयमा आफ्नोमात्र कि संसदकै यसमा त्रुटि रह्यो भन्ने प्रश्न पनि गरेका छन्। कुलिङ पिरियड २ वर्ष रहने समितिको मनसायअनुसार राष्ट्रिय सभाबाट पारित भएर आउनेमा आफू विश्वस्त रहेको उनले बताए।

कुलिङ पिरियडमा आफ्नो कुनै स्वार्थ नभएको र छानबिन समितिले पनि आफूलाई दोषी नठहर्‍याएको उनको भनाइ छ।

‘रामहरि खतिवडा दोषी भनेर किटान गरेको छैन तर किसुनजीबाट दीक्षित हो म। आजको दिनमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु सभामुख महोदय,’ उनले भने, ‘राज्य व्यवस्था समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु सभामुख महोदय।’

संघीय निजामती सेवा विधेयकमा सरकारका उच्च पदस्थ कर्मचारीका लागि लागू हुने गरी राखिएको ‘कुलिङ पिरियड’ निष्प्रभावी हुने गरी समितिले प्रतिवेदन तयार पारेको थियो।

विधेयकमा त्रुटि भएको विषय सार्वजनिक भएपछि नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले सभापति खतिवडालाई राजनीतिक र नैतिक जिम्मेवार ठहर्‍याएको थियो।

कुलिङ पिरियडमा त्रुटि भएको पाइएपछि नेकपा (एमाले) का सांसदहरूले खतिवडालाई सभापति पदमा बसिराख्न नमिल्ने बताएका थिए।

Comment


Related News

Latest News

Trending News