२०८२ श्रावण २८, बुधबार ०६:४२

पर्साको वीरगञ्जको नारायणी अस्पतालमा मंगलबार बिहान उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उनका परिवारजन र आफन्तजनले प्रदर्शन गरेका छन् ।

कर्तव्य ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगञ्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगञ्ज महानगरपालिका – २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा मृत्यु भएको छ । पर्सा प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका परिवारजन र आफन्तले अस्पताल अगाडिको सडकमा टायर बालेर प्रहरी–प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।



प्रदर्शनको क्रममा प्रहरी प्रशासनलाई दबाब परेपछि छानबिन समिति गठन गरिएको छ । नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार विहान कारगारको पर्सा प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो । त्यसबेला राहुलको मुखबाट रगतसहितको फिज निस्किइरहेको थियो ।

अवस्था निकै जटिल भएका कारण उनलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने भए पनि आइसीयु वार्डमा शैया खाली नभएका कारण डाक्टरले अन्यत्र लैजान कुरुवालाई सुझाए । त्यसपछि चिकित्सकले रिफरको कागज बनाइदिए । तर अवस्था झनै बिग्रिदै गएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग सल्लाह गरेर नारायणी अस्पतालमै आइसीयुको व्यवस्थापन गरेर थप उपचार गर्नेक्रममा राहुलको मृत्यु भएको डाक्टर सिंहले बताए । कैदीबन्दी राहुलको मृत्युको कारण पल्मोरी इडिमा (हार्ट फेलियर) रहेको पनि उनले जानकारी दिए ।

यता मृतकका परिवारजन र आफन्तले भने स्थानीय प्रशासन र प्रहरीको लापरवाहीका कारण समयमै उपचार नपाउँदा राहुलको मृत्यु भएको आरोप लगाए । मृतक राहुलको काकाका छोरा जगदीश साह तुराहाले भाइ राहुलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डाक्टरले रेफर गरिसक्दा पनि सीडीओको आदेशमा प्रहरीले बिरामीलाई अन्यत्र लैजान नदिएको आरोप लगाए ।

दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नपाएसम्म शव आफूहरूले नबुझ्ने पनि उनले बतए । पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले भने कारगारमै हर्ट अट्याक भएर नारायणी अस्पतालमा पु¥याइएका कैदी राहुलको उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार, कारागार प्रशासनले नारायणी अस्पतालको आकस्मिक कक्षमा पु¥याएका कैदी राहुलको स्वास्थ्य अवस्था निकै जटिल थियो । तर अस्पतालको आइसीयु वार्डमा शैय्या खाली थिएन ।

त्यसपछि आफूले चिकित्सकलाई फोन गरेर आइसीयुमा बेड खाली गराएर बिरामीलाई भर्ना गराउन लगाएको अर्यालले बताए । तर पहिलेदेखि नै बिरामीको अवस्था निक्कै जटिल भएका कारण चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उपचारकै क्रममा उनको मृत्यु हुन पुगेको अर्यालले दाबी गरे । मृतकका परिवारजन र आफन्तसँग छलफल गरेर उनीहरूको गुनासो सुन्न आफू तयार रहेको प्रजिअ अर्यालले बताए ।

यता नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ । सो घटनाका कारण र दोषीको पहिचान गरी १५ दिनभित्र रिपोर्ट बुझाउने गरी समिति गठन भएको उनले बताए ।

सो छानबिन समितिमा मानवअधिकार, प्रहरी, अस्पताल प्रशासन र मृतक परिवारका प्रतिनिधि समेत रहेका छन् । उनले छानबिन समितिले घटनाका सबै पक्षसँग जानकारी लिइ प्रतिवेदन बुझाउनु पर्ने बताए । सो छानबिन समिति पछि मृतक राहुलको पोस्टमार्टम भएको छ ।

Comment


Related News

Latest News

Trending News