सप्तरीको राजविराजमा विगत दशकौंदेखि ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट वञ्चित भएका पीडितहरूले चौथो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
आन्दोलनरत संघर्ष समितिले आफ्ना माग पूरा नभएपछि चौथो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिका संयोजक इरसाद अन्सारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकार भोला दाहाललाई आन्दोलनको घोषणाका साथै ६ बुँदे माग अघि सार्दै सोमबार ज्ञापनपत्र समेत बुझाइएका थिए ।

घोषित आन्दोलनको कार्यकम अनुसार भदौँ ५ गते स्थानीय गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्ने, ७ गते लाठी जुलुससहित खबरदारी सभाको आयोजना गर्ने, ९ गते सिटी जुलस प्रदर्शन गरिने, ११ गते राजविराज नगरपालिकामा दुई घण्टा धर्ना दिने, १४ गते मसाल जुलुस प्रदर्शन गर्ने, १५ गते राजविराज बजार बन्द गरी नगरपालिका कार्यालयमा ताला लगाउने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
त्यस्तै १६ गते संघर्ष समिति तथा नगरवासीको बृहत बैठक बसी आन्दोलनको समीक्षा गर्दै पाँचौँ चरणको आन्दोलन घोषणा गरिने संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए । त्यसैगरी सोही ज्ञापनपत्रमा राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण, खाडो नदी तट्बन्ध क्षेत्रका जग्गाहरूको नापी, राजविराज–कञ्चनपुर सड़क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान, सीमा नाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था, लामखुट्टे नियन्त्रणका लागि नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था तथा सप्तरीको सीमा नाका क्षेत्रमा वर्षौंदेखि बन्द रहेका छोटी भंसार कार्यालयहरू अविलम्व सञ्चालन गर्न माग समेत अगाडि सारिएको संघर्ष समितिका संयोजक अन्सारीले बताए ।
वि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापनाकालदेखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विघा क्षेत्रफलमा बसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पूर्जा पाउनबाट वञ्चित रहेका छन् ।

