२०८२ श्रावण २८, बुधबार ०७:०१

तराई मधेश केन्द्रित सात दलसम्मिलत संघीय लोकतान्त्रिक मोर्चा गठन गरिएको केही साता नवित्दै कमजोर भएको छ । सो मोर्चा कमजोर भएपछि अहिले विभिन्न खाले टिप्पणी हुन थालेको छ । रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने तथा २०८४ को आम निर्वाचनमा मोर्चामा रहेका दलहरू एकीकृत भएर अगाडि बढ्ने भएपछि सत्ता गठबन्धन त्यसलाई कमजोर बनाउन लागेको मोर्चामा आबद्ध दलका नेताहरूले आरोप लगाएका छन् ।

मोर्चाका एक घटक जसपा नेपालका महासचिव रामकुमार शर्माले मोर्चालाई कमजोर बनाउन सत्ता गठबन्धनले सुरुमै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई मोर्चाबाट अलग गरेको जिकिर गरे । अहिले डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीलाई पनि अलग पारेको उनले दाबी गरे । शुरुमा मोर्चामा आठ दलको सहभागिता रहेको थियो ।



मोर्चा गठनको हरेक प्रक्रियामा अशोक राई नेतृत्वको जसपाको सहभागिता हुँदै आएको थियो । जसपाले दलहरूसँग छलफल गर्नका लागि वार्ता समिति पनि बनाएको थियो । त्यस्तै, मोर्चामा सहभागी भएर दुई तीन वटा बैठकमा समेत सहभागी भइसकेको जनमत पार्टी पनि अहिले अलग भएको छ ।

सो मोर्चाबाट अलग भएको औपचारिक घोषणा जनमतले गरेको छैन तर बैठक तथा कार्यक्रमहरूमा जान छाडिसकेको छ । रुपन्देही–३ मा साझा उम्मेदवार बनाउने निर्णय गरेपछि जनमत पार्टीले मोर्चाबाट दूरी बनाउन थालेको छ । यदि जनमत पार्टीले मोर्चा नछाडेको भए मधेस प्रदेशको सरकार छाड्नुपर्ने थियो, त्यही भएर पार्टी दबाबमा परेको हुनसक्ने मोर्चाका एक नेताले बताए ।

मोर्चामा सक्रिय भएपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले जनमत पार्टीले मधेश प्रदेश सरकारबाट हटाउने चर्चा शुरु भएको थियो । प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिएको थियो । कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा नै यसको घोषणा पनि गरिसकेको थिए ।

तर मोर्चा छाडेसँगै जनमतलाई सरकारबाट निकाल्ने कुरा अहिले सेलाएको छ । जसपा नेपालका महासचिव शर्माले सीके राउतले आफ्नो सरकार जोगाउनकै लागि मोर्चा छाडेको दाबी गरे । सो कुरा मोर्चाको बैठकमा मात्र होइन, मोर्चाले अहिले प्रदेशका विभिन्न सहरमा भइरहेको कार्यक्रममा पनि उठ्ने गरेको छ ।

सरकारलाई सबभन्दा ठुलो भय मधेसी र थारु मिलेकोमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले जानकारी दिए । लोकतान्त्रिक मोर्चामा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ । मधेशी र थारु यसरी संगठित भएको पहिले अवसर हो । ‘रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई मधेश केन्द्रित दलहरूले साथ दिँदैछन् ।

नेपाली राजनीतिमा भएको यो पहिले घटना छ । महासचिव झोले विगतमा पनि थारु र मधेसी मिल्नका लागि पटक–पटक प्रयास भए पनि राज्यले विभिन्न षड्यन्त्र गरेर त्यसलाई रोकेको दाबी गर्दै अहिले पनि त्यही प्रयास भइरहेको जिकिर गरे । महासचिव झाले सीके राउत नेतृत्व पार्टीको बारेमा अहिले मोर्चाले कुनै निर्णय नगरेको बताए ।

मोर्चालाई कमजोर गर्ने काम वर्तमान सत्तारुढ गठबन्धनबाट भइरहेको कुरा कसैबाट नलुकेको उनले दाबी गरे ।

Comment


Related News