
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरुले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको हो । अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उहाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरु मिलेर, अन्य दलहरुको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पार्नुभयो । लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उहाले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के ग¥यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गर्नुभयो । देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताउनुभयो ।
भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने जिकिर गर्नुभयो ।
भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत विदेश जाने सवै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको उहाले बताउनुभयो ।
यसका पछाडी मुलुक र नागरिकको हित नभइ इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले तर्क गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि मुलुकको बिकास र समृद्धि लगाएतका क्षेत्रका भएका कामकारवाहीका बारेमा जानकारी गराउनुभयो । वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न अघि बढेको उहाको भनाइ छ । उहाले बहुबिवाहलाई मान्यता दिने गरि कानून ल्याउन लागको भन्ने हल्ला सहि नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले बहुबिवाहलाई कुनैपनि हालतमा मान्यता नदिने बताउनुभयो । उहाले एकताबद्ध भएर देशको बिकासमा लाग्न आह्वान समेत गर्नुभयो ।