२०८२ श्रावण २९, बिहीबार ०८:२०

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको कारण देश उल्टो गतितर्फ ओरालो लागेको आरोप लगाएका छन् । राजविराजमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले सरकारको भ्रष्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले मुलुकमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको चेतावनी दिए ।

जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारको भ्रष्ट र नस्लीय चरित्रले अक्रान्त भैसकेका जनताले यो सरकारको विकल्प खोजिरहेको बताए । देशमा भ्रष्टाचार, कुशासन एवम् विभेद चरम सिमामा पुगिसकेको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाह बन्न खोजेको छ, जनतामा सरकारप्रति व्यापक निराशा र आक्रोश छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ ।’

उनले संसारमै अविकसित एवम् पछाडि परेको तथा वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा रहेको आरोप लगाउँदै उनले देश उल्टो गतितर्फ ओरालो लागेको बताए । लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियसभा मात्र ६ जना मधेशको प्रतिनिधित्व रहेको उनले चर्चा गरे । अध्यक्ष यादवले भने, ‘रणनीति तहत मधेशलाई टुक्राटुक्रामा विभाजन गरेको गरेको छ, जबकि स्वायत्त मधेशको कुरा संविधानमै लेखिएको छ ।’ परिवर्तनका लागि संघर्ष आवश्यक रहेकोले अध्यक्ष यादवले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टी निर्माण, मजबुत र संगठन सदृढिकरण गर्न तथा सामाजिक न्याय र अधिकारका लागि काम गर्न निर्देशन दिए ।

उनले भने, ‘विकास, समानता र अधिकारका लागि लडाई सँगसँगै लड्नका लागि पार्टीलाई संगठित बनाउनु पर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘वडा, टोल, बस्तीहरूमा सभा, बैठक गरी जागरूकता बढाउनु जरुरी छ ।’ राष्ट्र सेवक कर्मचारीदेखि न्यायधिशसम्म पार्टीको भागवण्डामा वितरण गरी चयन गर्ने प्रवृत्तिले मुलुकमा लोकतन्त्रप्रति वितृष्णा रहेको भन्दै उनले मधेशको अनुहार र नाम देखेर नै बेवास्ता गरी विभेद गर्ने चलन अझैसम्म पनि जारी नै रहनु दुःखद रहेको अध्यक्ष यादवले टिप्पणी गरे ।

सो कार्यक्रममा मधेश प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद यादवले राजगढ गाउँपालिकामा होनहार युवा लालु यादवलाई बिना कसुर प्रहरीले दमन गरी ज्यान मारेकोप्रति आक्रोश ब्यक्त गर्दै दोषी प्रहरीलाई कडा कार्वाही गर्न माग गरे । पार्टीका केन्द्रीय सदस्य विकास तिवारी, शैलेन्द्र मोहन झा, अमरनाथ मण्डल, गीता यादव, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर ईसरत परविन, केन्द्रीय अनुशासन समिति सदस्य कैलाश यादव, सल्लाहकार समिति सदस्य श्यामदेव यादव, प्रदेश सदस्यद्वय युसुफ अली, किशोर कुमार यादव, निर्वाचन समिति संयोजक कृष्ण प्रसाद यादव लगायतले पनि कार्यक्रममा बोलेका थिए ।

उक्त अवसरमा नवनिर्वाचित जसपा सप्तरीका अध्यक्ष केदार यादवले पार्टी निर्माण तथा मजबुत बनाउन आफु कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अवकाशप्राप्त इञ्जिनियर योगेन्द्र प्रसाद यादवले जसपा नेपालमा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News