२०८२ श्रावण ३०, शुक्रबार ०७:१८

पछिल्लो समय मधेश प्रदेश र देशका अधिकांश जिल्लामा डेंगुको संक्रमण फैलिदैँ गएको छ ।

गत पुसको मध्यदेखि अहिलेसम्ममा २ हजार ९५२ जनामा डेंगु संक्रमण देखिएको पुष्टि भएको छ । डेंगु संक्रमण ७४ जिल्लामा फैलिएको छ भने गत एक सातामा १८० नयाँ संक्रमित थप भएको जनाइएको छ ।



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकले जनाए अनुसार मधेश प्रदेशमा १८, कोशी प्रदेशमा ४७, बागमती प्रदेशमा २९८, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमै देखिएको छ ।

स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने दाबी गरेका छन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको छ । १० हजार मानिसलाई डेंगु भयो भने १ हजार मानिसमा मात्रै लक्षण देखा पर्ने गरेको चिकित्सकको भनाइ छ । शुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुने गरेको छ ।

एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले धेरै बिरामीले लक्षणविहीन अवस्थामा समुदायमा अन्य व्यक्तिलाई संक्रमण सारिरहेको अवस्था रहेको बताए । डा. बसौलाले मनसुनपछिको अवधिमा संक्रमण बढ्ने भएकाले आगामी दिनमा डेंगु संक्रमित संख्या बढ्नसक्ने अनुमान गरे ।

एडिस एजेप्टाइ र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भएका थिए ।

४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भएको थियो । त्यसयता देखि नै हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ । अहिले सो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहँदै आएको छ । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा १५ जनाको मृत्यु र ४१,८६५ जना संक्रमित भएको तथ्यांकमा उल्लेख गरिएको छ । विश्व परिवेश र शहरीकरण कारण डेंगुलाई पूर्णत घटाउन गाह्रो हुने विज्ञ बताउँछन् । शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन छ ।

ईडीसीडीले यसवर्ष सबैभन्दा खराब अवस्थामा यस वर्ष ६० हजारलाई संक्रमण हुनसक्ने अनुमान गरेको छ । एनका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन् स्थल छन् ।

विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगु अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै गएको छ । दुई दशक अघिसम्म काठमाण्डु उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘किटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुने गरेको छ ।

डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल मानिन्छ । डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ ।

Comment


Related News

Latest News

Trending News