२०८२ श्रावण ३१, शनिबार ०७:४४

पर्साको वीरगञ्जमा पहिलोपटक कालाजारको विरामी फेला परेको जनाइएको छ ।

वीरगञ्ज महानगरपालिका–२७ स्थित उदयपुरघुर्मीका ४० वर्षीय पुरुषमा कालाजारको संक्रमण पुष्टि भएको छ । ती पुरुष चालु आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको पहिलो बिरामी भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । उनले गत आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको एक जनामा मात्रै संक्रमण भेटिएको थियो ।



अहिले कालाजारको संक्रमण पुष्टि भएका वीरगञ्ज–२७ का ४० वर्षीय पुरुष रोजगारीका सिलसिलामा दुई महिना पहिले भारतको गुजरात गएका थिए । त्यहाँ उनलाई साँझको समयमा पटकपटक ज्वरो आउने लगायतका लक्षण देखा परेपछि उनी घर फर्किए ।

साउन ८ गते स्वास्थ्य उपचारका लागि वीरगञ्ज–१५ स्थित तराई हस्पिटलमा स्वास्थ्य परीक्षणका क्रममा कालाजारको संक्रमण रहेको पुष्टि भएको थियो । त्यसपछि स्वास्थ्य कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोली तराई हस्पिटलमा पुगेर पुनः परीक्षण गर्दा पनि कालाजारको संक्रमण भएको फेला परेको थियो ।

आर्थिक अवस्था कमजोर रहेका ती पुरुषको उपचारमा आवश्यक सुई र औषधि प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरबाट झिकाएर उपचार गरिएको उनले बताए । हाल घरबाटै उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । चालु आर्थिक वर्षको पहिलो महिनामै जिल्लामा कालाजारको संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरेर कालाजार, मलेरिया, डेंगी लगायतका कीट जन्य रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ ।

कालाजार रोगका मुख्य लक्षणहरू पटक पटक ज्वरो आउनु, तौल घट्नु, थकान महसुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु इत्यादि हुन् । कालाजारको संक्रमण भएपछि समयमै उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ । हालसम्म कालाजार लाग्नबाट बचाउने कुनै खोप वा औषधि नभएको चिकित्सकहरू बताउँछन् ।

Comment


Related News

Latest News

Trending News