२०८२ श्रावण ३१, शनिबार ०८:४८

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।



यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।

श्रीकृष्ण मन्दिर रहेका ठाउँमा दर्शनार्थीको घुइँचो छ । विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि छ ।

अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुशीयालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Comment


Related News