रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित धरहरीमा श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन् ।
राम जानकी ब्रह्माबाबा मठमा आयोजित बैठकमा विवादले उग्ररुप लिएपछि मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहसहित तीन जना घाइते भएका छन् । मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुवै पक्षबीच भनाभन भएपछि हात हालाहालको अवस्था आएको रौतहट प्रहरीले जनाएको छ ।

झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए । घाइतेहरुको गरुडा–४ स्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको एसपी गिरीले बताए । झडपपछि मेला क्षेत्र तनावग्रस्त बनेको थियो । तर केही समयपछि भीडलाई नियन्त्रणमा लिइ मेला सामान्य अवस्थामा ल्याइएको रौतहट प्रहरीले जनाएको छ ।


