
महोतरीको मटिहानी नगरपालिका– ५ स्थित गोवरौडा (साविक मझौराविसनपुर गाविस–७ ) स्थित ४ विगहा १० कठा १५ धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन पाँचनम्बर नापी गोश्वारा जलेश्वर नापी कार्यालय महोतरी तथा भूमाफियाहरूले चलखेल गरेको खुलासा भएको छ ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल गर्ने एक नम्बर नापी गोश्वारा अन्र्तगत एक नम्बर नापी टोली र नापी कार्यालयका कर्मचारी तथा भूमाफियाहरूमाथि छानबिन गरी कारबाहीको माग गर्दै स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगाल र जिल्ला प्रशासन कार्यालय महोतरीमा उजुरी दर्ता गराएपछि सो प्रकरणको खुलासा भएको थियो ।

उक्त जग्गाहरुको गाउँब्लकको जग्गामा परिणत गरी व्यक्तिहरुको नाममा जग्गाधनी प्रमाणपत्र पुर्जी गरिदिने नाममा कर्मचारी र भूमाफियाले स्थानीयहरुसंग मोटो रकम असुल गरेका मटिहानी नगरपालिका– ५ का रामपुकार साहले बताए । आर्थिक चलखेल गरी सोही सरकार जग्गाबाट दुखरन साह, सुनैना देवी, तपेश्वर महतो, सुखी देवी, रामभजन यादव, पुरन महतो, जगदिश महतो र रामकिसुन महतो गरी आठ जनालाई जग्गा धनी प्रमाण पत्र समेत बनाइ वितरण गरिएको उनले बताए ।
मालपोत कार्यालय महोतरीको मूल अभिलेख (मुख्य ढड्डा) मा मझौराविसनपुर गाविस–७ कित्ता नम्बर २५१को २ विघा १६ कठ्ठा १५ धुर र कित्ता नम्बर २५४ को १ विघा १० कठा क्षेत्रफल जग्गाको प्रकारमा सार्वजनिक भनी जनाइएको छ । तर मालपोत कार्यालयको कम्प्युटर प्रिन्टमा त्यहाँका कर्मचारीहरूले उक्त जग्गालाई रैकर जग्गा भनी लेखिएको छ ।
मटिहानी नगरपालिका– ५ स्थित गोसाईकुण्ड पोखरी साविक वडा नम्बर ७ को कित्ता नम्बर २५१ र कित्ता नम्बर २५४ को चारैतर्फको डिल २०२६ सालमा सर्वे नापी भइसके पनि गाउब्लक भित्र पारी सरकारी सार्वजनिक डिललाई एकनम्बर नापी गोश्वारा जलेश्वरका नापी टोली प्रमुख खटिएका कर्मचारीहरुले सो जग्गाको विभिन्न टुक्रामा गरी ४२ वटा कित्ताकाट गरिदिएका थिए ।
पोखरीको डिलमा मठमन्दिर स्वास्थ्य चौकी र विद्यालय निर्माण गरिएका छन् । अन्य फिल्डबुकमा खाली छाडिएको छ । एकनम्बर नापी गोश्वारा जलेश्वरले सो वडाको गाँउब्लकको नापी २०६५ पुस २१ ग्ते देखि फागुन १० गतेसम्ममा गरेका थिए । २०२४ सालको सर्वेनापी नेपाल सरकारको नाममा रहेको पोखरी बदनियतपुर्वक तत्कालीन प्रमुख नापी अधिकृत सुमन्त झा नापी अधिकृत भरतलाल कर्ण, टोली प्रमुख धनुषी मण्डल, नापीनिरिक्षक भरतलाल कर्ण र अमिन दयासिन्धु झाले गरेका थिए ।
कित्ता नम्बर २५१ मा २ विगहा १६कठा १५ धुर जमिन रहेको छ स्थानीय कशेश्वर यादवले बताए । नापीबाट मूल जग्गा ४२ कित्तामा बाँडि जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल शुरु गरिएको छ । नापी कार्यालयबाट साबिकको कित्ता नम्बर २५१ र २५४ कित्ताकाट भइ नयाँ कित्ता कायम भए पनि कायम हुन आएका कित्ताहरूको अभिलेख मालपोत कार्यालयमा नहुनुले मालपोत कार्यालयको लापरबाही तथा गैरजिम्मेवारीपूर्ण काम भएको छ ।
यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगालले मालपोत कार्यालय एक नम्बर नापी गोश्वारा र नापी कार्यालयसँग पत्राचार गरी सोधपुछ गरेका थिए । पत्राचारपछि ती कार्यालयहरुले २५१ र २५४ नम्बर कित्ताको जग्गा सम्बन्धमा मालपोत कार्यालयको चालु मोठ श्र्रेस्तामा नेपाल सरकारको नाममा दर्ता कायम रहेको छ । सो कार्यमा संलग्न प्रमुख नापी अधिकृत सुमन्त झा, नापी अधिकृत भरतलाल कर्ण, टोली प्रमुख धनुषी मण्डल, नापी निरिक्षक भरतलाल कर्ण र अमिन दया सिन्धु झा रहेका थिए ।
पुरानो नापजाँच त्रुटिपूर्ण रहेको भन्दै नापजाँच गरिएकोमा पछिल्लो नापीको काममा थप समस्या देखिएको र बढी विवादित भएको एक नम्बर नापी गोश्वाराका प्रमुख नवल यादवले बताए । अझ पछिल्ला दिनमा सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता भएको घटनाले गोश्वारा नापीको विषय सरकारी जग्गा घोटालासँग जोडिएको मटिहानी नगरपालिका ५ का वडाध्यक्ष मिश्री नायकले बताए । उनले नापीको कर्मचारीको मिलेमत्तो भएको देखिएका यस कार्यमा संलग्न सवैलाई कारबाही गर्न माग गरे ।
सार्वजनिक सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नु सरासर गलत हो । गोवरौडाका स्थानीय रामसोगारथ यादवले बताए । त्यस्ता वयक्तिलाई कारवाही हुनुपर्छ उनले बताए । सरकारी जग्गा व्यक्ति नाममा गराउने कार्यक्रममा नापी प्रमुख रामविनय सिंह र नापी टोली प्रमुख नवल यादवको प्रत्यक्ष संलग्नता देखिएकाले उनीहरुमाथि पनि कारवाही गर्न स्थानीय प्रशासनसंग नेपाली कांग्रेसका नेता कैलास नायकले माग गरे ।
सरकारी जग्गालाई व्यक्तिकोमा जान हामी दिदैँनौ स्थानीय नरेश नायकले भने, ‘कानुनी उपचारका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छौं ।’ सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियाबारे अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा आवश्यक छानबिनका लागि नापी कार्यालय नापी गोश्वारा, मालपोत कार्यालयसंग किताकाट दर्ता प्रक्रियाबारे जिल्ला प्रशासन कार्यालय महोतरीका प्रशासकीय अधिकुत हेमबहादुर कार्कीले पत्राचार गरेको बताए ।