नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्यत रहेको टिप्पणी गरेकी छन् ।
पूर्वमन्त्रीसमेत रहेकी उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साध्ने, जनविरोधी भूमि सम्बन्धी कानुन ल्याउने लगायतका गतिविधिले गर्दा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउनतर्फ सरकार उद्यत रहेको बताइन् ।

संघीय कार्यान्वयका लागि निकै महत्वपूर्ण मानिएको निजामति ऐन कानुनमा कुलिंग पिरियडको बेलामा कानुनमाथि छेडखानी गर्ने, संघीयता कार्यान्वयनका अर्का एक महत्वपूर्ण शिक्षा विधेयक अड्काएर राख्नु नै संविधानको मूलमर्म विपरीत कानुन ल्याउन सरकार अग्रसर रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साध्ने, जनविरोधि कानुनहरु ल्याउने, भूमि सम्बन्धी कानुन, संघीय कार्यान्वयका लागि बनेको निजामती ऐन कानुनमा कुलिंग पिरियडको बेलामा कानुनमाथि छेडखानी गर्ने, संघीयता कार्यान्वयनका अर्का एक महत्वपूर्ण शिक्षा विधेयक अड्काएको अड्काइ छ ।
संविधानको मुल मर्म विपरित कानुन बनाउने, समावेशी लोकतन्त्रलाई कमजोर बनाउने तर्फ सरकार उद्यत रहेको देखिन्छ ।’ मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा भएको एक कार्यक्रममा उपाध्यक्ष भुसालले नेकपा एकीकृत समाजवादी, विप्लव नेकपा, महेन्द्र राय यादवको जनता समाजवादी पार्टीलगायतका दलहरुसंग सकारात्मक रुपमा वार्ता अघि बढिरहेको बताइन् । उनले एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसंग एकताको हात अघि बढाइएको बताइन् ।
त्यस्तै शहीद चन्देश्वर मण्डलको २० औँ स्मृति दिवसको अवसरमा आइतबार मिथिला विहारी नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष भुसालले माओवादीले जनताको हकहितमा काम गर्न निर्देशन दिइन् । त्यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले पार्टी भित्रका विवादहरु अन्त्य गरी एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले कुनैपनि बेला पार्टी एकता गर्न सक्ने भएकोले पार्टीका आन्तरिक विवादहरु समाधान गरी एकढिक्का भइ अघि बढ्नुको विकल्प नभएको बताए ।
त्यस्तै सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । मिथिला विहारी नगरपालिका–३ स्थित जनमुक्ति चोकमा नेकपा (माओवादी केन्द्र) नगर समितिको आयोजनामा स्मृतिसभा तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो । मधेश रक्त संचार सेवा मुजेलियाको प्राविधिक सहयोगमा स्थानीय माओवादीका नेता तथा कार्यकर्ताहरुले रक्तदान गरेका थिए । सो कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेको जनाइएको छ ।

