
रौतहटको राष्ट्रिय वन क्षेत्रबाट गाडीमा काठ ल्याउँदै गरेको सूचनाका आधारमा वन कार्यालयको गस्तीले साउन १५ गते राति कटहरिया नगरपालिका–१ भसेडवा गाउँमा स्कारपियो रोकेर जाँच गर्दा चालक फरार भएका थिए ।
चालक फरार भएपछि वन कार्यालयको टोलीलाई झनै शंका बढाएपछि स्कारपियोमा चेकजाँच गर्दा गाडीभित्रको सिटमा सालको गोलिया फेला परको छ । वन अधिकृत विनोद जेठारको नेतृत्वको टोलीले राति भसेडवा गाउँमा एम एच ०४ डी बी ६३५३ नम्बरको स्कारपियोभित्र ४ थान काँचो सालको गोलिया फेला पारेको जनाइएको छ ।

स्कारपियोमा गोलिया देखेपछि वनको टोली आश्चर्यमा प¥यो । स्कोरपियोमा काठ तस्करी हुन्छ भन्ने वनले शंका गरेको थिएन । मधेश प्रदेशमा शानदार पहिचानको रूपमा चिनिने स्कारपियो गाडीबाट काठ तस्करी हुँदै आएको वन कार्यालयको अनुमान छ । डिभिजन वन प्रमुख हेमन्तकुमार साहले स्कोर्पियोमा काठ तस्कर हुन थालेको देख्दा अचम्म लागेको बताए ।
मालवाहक ट्रकमा काठ तस्करी गर्दा थाहा पाएर धमाधम पक्राउ पर्न थाले पछि अहिले मानिस चढ्ने जिपमा यस्ता धन्दा हुन थालेको प्रमुख साहले बताए । भषेडवामा स्कारपियोमा काठ बरामद गरेको दुई दिनपछि चन्द्रपुर नगरपालिका–६ बेलडीस्थित कटानी जाने बाटोमा इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले स्कोरपियोमा अवैध रूपमा सालको गोलिया लगिरहेको अवस्थामा फेला पारेको थियो ।
एचआर १४ सी ८६९७ नम्बरको भारतीय स्कारपियोलाई शंका लागेर जाँच गर्दा ५ थान अवैध सालको गोलिया फेला पारेको छ । त्यस्तै धन्सार पोस्टका रेन्जर विकास लामिछानेको नेतृत्वको टोलीले राति महेन्द्र राजमार्गस्थित धन्सार पुलदेखि २ किलोमिटर पूर्व लच्कामा साढे ८५ क्यूफिट अवैध सालको काठ लोड भएको ना २ च ९३१९ नम्बरको बोलेरो पिकअप बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल जंगलसहियाको गस्ती टोलीले साउन ५ गते गुजरा नगरपालिका–४ लालबकैया खोलाको बाटो भएर जाँदै गरेको एचपी ३१ सीओ ७७३ नम्बरको भारतीय टाटा सफारी जिपभित्र जंगलबाट अवैध रूपमा राखिएको २० क्यूफिट सालको गोलियासहित नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ काठ तस्कर गाडी छाडेर फरार भए ।
गाडीभित्र काठ हुनसक्ने सशस्त्रलाई कुनै शंका थिएन । मधेश प्रदेशको डिभिजन वन र सशस्त्र वनरक्षक कार्यालयहरुमा यतिखेर काठ तस्करमा प्रयोग भएका जिपहरू लाइन लगाएर राखिएको पाइएको छ । भारतबाट सस्तो मूल्यमा खरिद गरी ल्याइएका जिपहरू धमाधम तस्करीमा प्रयोग हुन थालेको पाइएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले ६ महिनायता काँचो सालको गोलियासहित ४ वटा स्कारपियो नियन्त्रणमा लिइसकेको छ । धन्सार पोस्टले एक महिनाअघि बरामद गरेको नेपाली नम्बर प्लेटको टाटा सुमो जिपमा पनि काठ तस्करी गर्न लागिएको थियो । मधेश प्रदेशका डिभिजन वन कार्यालयहरूले अहिलेसम्म काठ तस्करीमा प्रयोग भएका १ हजार २० वटा सवारी साधन बरामद गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै साइकल छन् । साना सवारी साधनमा स्कारपियो, टाटा जिप, टाटा मोबाइल, पिकअप, ट्रैक्टर, ट्रक, बस छन् ।
सर्लाही डिभिजन वन प्रमुख सन्तोषकुमार झाले काठ तस्करी हुने नाकाहरूमा कडाइ गर्दै आएको बताए । पछिल्लो समय चारपांग्रे त्यसमा पनि स्कारपियो जस्ता जिप प्रयोग हुन थालेको वन कार्यालयले जनाएको छ । काठ चोरीमा धेरैजसो भारतीय स्कारपियो प्रयोग हुन थालेको वन कार्यालयले जनाएका छ । भारतमा यस्ता जिपको २ देखि ३ लाख भारतीय रुपैयाँमा पाइने गरेको छ ।
पारिबाट चोर बाटो हुँदै नेपाल भित्र् याउने यस्ता सवारीसाधनको कुनै पनि कागजपत्र हुँदैन । बरामद भएका जिपहरुमा वास्तविक नम्बर हुँदैनन् । नेपालमा चल्ने भन्दा भिन्न तरिकाले यसको बनावट हुन्छ । जिपको दुवैतर्फ भारतीय अक्षरले विभिन्न गीत तथा मुक्तक लेखिएका हुन्छन् । तस्करले ती सबै मेटाउँछन् । नम्बर प्लेट समेत पोतेर नेपाली राख्छन् ।
सवारीसाधनमा नक्कली नेपाली नम्बरहरु टाँसिएको हुन्छ । राजमार्गमा तैनाथ ट्राफिक प्रहरीको आँखा छल्न उनीहरूले नक्कली नम्बर प्लेट राख्ने गरेका छन् । जेठ ७ गते डिभिजन वनको गस्ती टोलीले पौराइ जंगलको राजमार्ग छेउबाट सालको काँचो गोलिया लोड गरेर लैजाँदै गरेको अवस्थामा एउटा बोलेरो चोरीको जिप बरामद गरेको थियो । जिपमा समेत नेपाली नम्बर लगाइएको थियो ।
काँचो रुख काटेर जिपमा अटाउने साइजको बनाइ काठ तस्करी गर्ने गरेको फेला परेको छ । एक दशक अघिसम्म तस्करले ट्रक, टेक्टर, मोटरसाइकल तथा साइकलमा सालको गोलिया लैजान्थे । अहिले महँगोका गाडीहरु स्कारपियो, बोलेरो, टाटा सुमो र भारतीय चोरीका जिप प्रयोग हुन थालेको सशस्त्र वन रक्षकका जमदार रामपुकार साहले बताए डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका अनुसार कार्यालयले ५ वर्षको अवधिमा तस्करी गर्न प्रयोग भएका २१ वटा स्कारपियो, टाटा सफारी जिप, टाटा जिप, टोयटा जिप र टाटा मोबाइल गाडी बरामद गरेको छ ।
त्यस्तै अवैध सालको गोलिया तस्करी गर्न लागेको अवस्थामा ४ वटा ट्रक बरामद गरेको छ । मिनी बस एक थान बरामद गरेको छ । वनले ८ वटा ट्र्याक्टर, ३१ वटा मोटरसाइकल र काठ लोड भएको २७० वटा साइकल बरामद गरेको जानकारी दिएको छ । तस्करले कटान गरेको झन्डै ३ हजार ७४५ क्यूफिट काठ बरामद गरिएको छ ।