२०८२ भाद्र ३, मंगलवार ०७:२२

सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पु¥याइएकी १५ वर्षीया किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ ।

पर्सा प्रहरीले सीमापार अपराध नियन्त्रणमा देखाएको सो सक्रियता प्रशंसनीय मानिएको छ । पर्सा प्रहरीका एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको प्रयासले घरबाट हराएको १८ औं दिनमा किशोरीलाई सीमाक्षेत्रमा फेला पारिएको छ ।

प्रहरी, अभिभावक र सञ्चारकर्मीहरूको सक्रियताले सीमापार मानव तस्करीको जटिल घटनालाई सुल्झाएको उदाहरण बनेको छ । गत साउन १२ गते कटहरिया नगरपालिका–४ का सो किशोरीलाई २२ वर्षका युवकले ललाइफकाई मोटरसाइकलमा लगेर भारत पुर्याएको परिवारले जनाएको थियो ।

खोजतलास गर्ने क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा राखिएका फोटोमार्फत खोजी गरेपछि उनी पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको पत्ता लागेको थियो । तर बालिकाको अवस्था सार्वजनिक हुने बित्तिकै मुस्लिम समुदायका युवकको परिवारले उनलाई रातारात भारतको बिहार स्थित रामनगरमा आफन्तको घरमा लुकाएको अभिभावकले बताएका छन् ।

प्रहरीको दबाबसंगै घटनाको अनुसन्धान अघि बढेपछि हिन्दू थरकी किशोरीलाई भारतीय सीमाक्षेत्रमा छाडिएको अनुमान गरिएको छ । उद्धार गरिएको बालिकालाई प्रहरीले अभिभावकलाई जिम्मा लगाइएको छ । इन्स्पेक्टर थापाले भने, “बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। तर किशोरीलाई भगाउने युवक र उनका परिवारविरुद्ध थप अनुसन्धान जारी छ ।” सामाजिक सञ्जाल टिकटकमा अब मानव प्रलोभन र अपराधका नयाँ साधन बन्दै गएको छ ।

किशोरी–किशोरलाई लक्षित गरी प्रेम, विवाह वा रोजगारीको प्रलोभन देखाइ सीमापार लैजाने प्रवृत्ति बढ्दो छ । सीमाक्षेत्रको कमजोर निगरानी र सामाजिक संरचनामा आधारित दबाबका कारण धेरै घटना उजागर नै हुँदैनन् । यस केसमा पनि प्रहरीको समयमै दबाब नपरेको भए पीडित भारततर्फ हराउने खतरा थियो । सञ्चारकर्मी र प्रहरीबीचको सहकार्यले यस घटनालाई समाधान गर्न ठूलो भूमिका खेलेको छ ।

यो अभ्यासले समुदायस्तरमा प्रहरी–सञ्चारकर्मी–अभिभावक त्रिपक्षीय सहकार्यको महत्त्व देखाउँछ । पर्सा प्रहरीको सक्रियताले नाबालिकाको जीवन जोगाएको मात्र नभइ सीमाक्षेत्रमा सामाजिक सञ्जाल प्रयोगमार्फत हुने अपराध नियन्त्रण गर्न सजगता बढाउने सन्देश पनि दिएको छ ।

Comment


Related News

Latest News

Trending News