
बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिएको छ ।
साउन २८ गते भएको शिक्षकमाथिको कुटपिट घटनासँग वडाध्यक्ष कुशवाहा सम्बन्धित रहेकाले उनलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरीले दिएको जानकारी अनुसार वडा कार्यालयमै झैँझगडा र मदिरा सेवनपछि भएको कुटपिट घटनामा अध्यक्ष कुशवाहा करिब आठ जनाको समूहसहित संलग्न रहेको थियो ।

पीडित शिक्षक नागेश्वरकुमार यादवमाथि कुटपिट भएको घटनाको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए । घटनापछि कुशवाहा फरार रहेका थिए । सो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । घटनाको सम्पूर्ण पृष्ठभूमि खोतल्ने काम जारी छ । कुनै पनि दोषी उम्कन नपाउने एसपी तामाङले बताए । सो घटनासँगै अध्यक्ष कुशवाहाको आपराधिक गतिविधिमा संलग्नता पुनः चर्चामा आएको छ ।
यसअघि पनि उनीमाथि कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन वटा छुट्टाछुट्टै मुद्दामा बारा जिल्ला अदालतले सजाय सुनाइसकेको छ । अदालतले चेक अनादर मुद्दामा ३ हजार, कुटपिटमा २ हजार र आपराधिक लाभमा १ हजार जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो । तर फैसला कार्यान्वयन अघि नै उनी फरार भएका थिए । लामो समयदेखि कानुनी कार्यवाहीबाट भागिरहेका कुशवाहा जेठ ११ गते एक पटक पक्राउ परेका थिए, तर त्यसपछि पुनः सक्रिय भएका छन् ।
स्थानीय वासिन्दाहरूले जनप्रतिनिधि नै कानुनको उल्लंघनमा संलग्न हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । बारा प्रहरीले सो घटनालाई गम्भीर रूपमा लिएर अगाडि बढाएको छ भने स्थानीय तहमा जनप्रतिनिधिहरूको आचरण र जिम्मेबारीप्रति पनि पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।