
सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन् ।
सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्तागठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन् । बैठकपछि नेताहरुले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन् ।

हाल अमेरिका भ्रमणमा रहनुभएका उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाबिरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने बिषयमा छलफल नै नभएको बताउनुभयो ।
सत्तारुढ दलकाबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका बिषयमा साझा धारणा बनाउने प्रयास गरिएको उहाले बताउनुभयो । त्यस्तै उहाले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गर्नुभयो । बर्तौलले उपसभामुखका बिषयमा उठेका प्रश्नहरुलाई निष्कर्षका पुराउनका लागि खुला ढंगले छलफल गर्ने बताउनुभयो । उपयुक्त समयमा यसका बिषयमा आवश्यक निर्णय लिने भन्दै उहाले उपसभामुख देशबाहिर रहेका बेला उहाकाबिरुद्ध टिप्पणी गर्नु उचित नहुने धारणा राख्नुभयो ।
यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताउनुभयो । सत्तागठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगाएतका बिषयमा छलफल भएको उहाले बताउनुभयो ।
बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगाएत दलका नेताहरु सहभागी भएका थिए ।