
उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने विषयमा मधेश केन्द्रित दलहरु विभाजित भएको छ ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी ( जसपा) नेपालले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

सत्ता गठबन्धनले बोलाएको बैठकमा उपस्थित भएको जसपा नेपालले उपसभामुख बाहिर रहेको समयमा हटाउन नहुने तर्क गर्दै हस्ताक्षर गर्न मानेनन् । जसपा नेपालकी सचेतक रेखा यादवले आफ्नो दल उपसभामुख बाहिर रहेको बेला हटाउन पक्षमा नभएको जानकारी दिइन् । उनले भनिन्, ‘उपसभामुख हटाउने प्रस्तावका सम्बन्धमा छलफल गर्न कांग्रेस संसदीय दलमा बोलाउनु भएको थियो। उहाँ बाहिर रहेको बेला प्रस्ताव ल्याउनु ठिक होइन भन्ने हाम्रो धारणा हो। हाम्रो पार्टीमा छलफल पनि भएको छैन, त्यसैले निर्णय दिइएको हो ।’
यसक्रममा उपसभामुख रानालाई हटाउने पक्षमा जनमत पार्टी, लोसपा नेपाल र अशोक राई नेतृत्वको जसपा उभिएको छ । जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले उपसभामुख रानालाई हटाउन सत्ता साझेदार दलहरूबीच छलफल भएको बताउँदै पार्टीले पनि त्यो एजेन्डामा समर्थन जनाएको बताए ।