२०८२ भाद्र ४, बुधबार ०७:३२

सर्लाहीको हरिपुर्वाका रामपुकार यादवको गोली हानी हत्या गरिएको घटनामा प्रहरीले अभियुक्तको कोठाबाट हतियार बरामद भएको दाबी गरेको छ ।

जिल्लाको दक्षिण–पूर्वी ग्रामीण भेगस्थित हरिपूर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार यादवको गएको शुक्रबार घरमा बसिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो । कन्चटमा गोली प्रहार हुँदा गम्भीर घाइते भएका रामपुकारलाई उपचारका लागि महोत्तरीको सोनामा गाउँपालिकास्थित एक अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले रामपुकारको हत्यामा संलग्न रहेका हरिपूर्वा नगरपालिका–५ का २६ वर्षीय धीरु भन्ने धीरेन्द्र रायलाई पक्राउ गरेको छ । रामपुकारलाई गोली प्रहार गरेर भाग्दै गरेका व्यक्तिहरु हरिपूर्वाकै बसन्तपुर क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका थिए । सर्लाही प्रहरीले घटनास्थलबाट बीआर ३० एजी २३५४ नम्वरको भारतीय मोटरसाइकल र घाइते अवस्थामा धीरेन्द्रलाई फेला पारेको थियो ।

जनकपुरमा उपचारपछि धीरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा ल्याएर राखिएको छ । धीरेन्द्र प्रहरीको फरार सूचीमा रहेका छन् । उनले २०८१ असोज ९ गते राति गोली प्रहार गरी श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका थिए । त्यसबेला गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते भएका थिए । उक्त घटनादेखि फरार रहेका धीरेन्द्रले नै रामपुकारको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

सर्लाही प्रहरीले धीरेन्द्रलाई मलंगवा ल्याएर बयान लिँदा मलंगवा नगरपालिका ९ स्थित सुशील साहको घरमा आफू कोठा भाडा लिएर बस्ने गरेको र सो कोठामा गएर खानतलासी लिँदा एक थान नलकटुवा पेस्तोल र फायर भइसकेको एक थान गोलीको खोका बरामद भएको प्रहरीले दावी गरेको हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले घटनास्थल अर्थात् रामपुकारलाई गोली प्रहार गरिएको ठाउँबाट पनि एक थान फायर भइसकेको गोलीको खोका बरामद भएको दावी गरेका छन् । लागूऔषध सेवनकर्ता छोरासँगको विवादका कारण रामपुकारमाथि गोली प्रहार हुन पुगेको पाइएको छ । छोरासँगको विवाद फरार रहेका व्यक्तिसँग भएको तर गोली प्रहार गर्ने सुटरको रुपमा धीरेन्द्रलाई प्रयोग गरेको स्रोतले जनाएको छ ।

डिएसपी राईले धीरेन्द्रविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जनाए । उनले फरार रहेका अर्का व्यक्तिको पनि खोजी भइरहेको बताए । फरार रहेका व्यक्ति केहीवर्ष अघि भारतबाट आएर हरिपूर्वामै घर बनाएर बस्दै आएको बुझिएको छ । फरार रहेका व्यक्तिसमेत भारतमा आफ्नै आमाको हत्यामा संलग्न रहेको स्रोतको दाबी छ ।

Comment


Related News

Latest News

Trending News