२०८२ भाद्र ४, बुधबार ०७:४१

जनमत पार्टीले अव्यवस्थित विद्युतीकरणका कारण करेन्ट लागेर मधेश प्रदेशमा किसानहरूको मृत्यु भएकोबारे नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।

जनमतका प्रवक्ता डा.शरद सिंह यादवले प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै कृषि विद्युतीकरणलाई तत्काल सुरक्षित र व्यवस्थित बनाउन माग गरे । पछिल्लो पाँच वर्षमा मधेस प्रदेशमा मात्र ४४९ जनाले खेतमा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कृषि विद्युतीकरणका लागि गाडिएका पोल र तारहरूमा कुनै मापदण्ड नअपनाइएको र खेतमा जथाभाबी तारहरू छोडिँदा दुर्घटना बढेको पार्टीले ज्ञापनपत्रमा उल्लेख गरेको छ । सो ज्ञापनपत्रमा भनिएको छ, ‘खेतमा चिस्यान भइराख्ने हुनाले विद्युत् सर्ट हुने खतरा बढेको र पोलपोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था नभएको हुँदा किसानले आफ्नो कृषि मिटर लुज हुकिङ गर्न बाध्य हुनुपरेकोले अधिकांश दुर्घटना भइरहेको छ ।’ यस्तो अव्यवस्थाले किसानको जीवन जोखिममा परेको भन्दै जनमत पार्टीले मागहरू पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।

कृषि विद्युतीकरणका लागि तत्काल वैज्ञानिक मापदण्ड बनाएर लागू गर्नुपर्ने, खेतमा रहेका हरेक पोलमा तत्काल डिस्ट्रिब्युसन बक्स जडान गर्नुपर्ने, विद्युतीय दुर्घटनाबाट घाइते भएका र ज्यान गुमाएका किसानका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विद्युतीय कृषि बिमाको व्यवस्था लागू गर्नुपर्ने, किसानहरूलाई कृषि मिटर र त्यसको बिल निःशुल्क गर्नुपर्नेलगायतका माग जनमतले गरेको छ ।

Comment


Related News

Latest News

Trending News