
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेकी छन्। उनले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएकी छन्।
श्रेष्ठले सभामुख देवराज घिमिरेलाई जानकारी गराउँदै पठाएको पत्रमा दलको नेता हेरफेरबारे जानकारी गराएकी छन्।

‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका गंगाराम चौधरीलाई पार्टीको हितविपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुदा निज गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२।०४।३० गते कारबाही गरेको हुँदा तहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ’ श्रेष्ठले सभामुखलाई पठाएको पत्रमा भनिएको छ।
उनले राजनितिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अधिलेखीकरण गर्न समेत अनुरोध गरेकी छन्।
उक्त पत्र संघीय संसद् सचिवालय, निर्वाचन आयोगलाई बोदार्थ दिएकी छन्।