
रौतहटको गौर हत्याकाण्डबारे सर्वोच्च अदालतको आदेशको लिखित पाठ आएपछि मात्र कार्यान्वयनको चरणमा जाने भएको छ ।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गौर हत्याकाण्डबारे अनुसन्धान गर्न परमादेश जारी गरिएको थियो ।

सोही आदेशको लिखित पाठ प्राप्त भएपछि मात्रै कार्यान्वयनमा जाने प्रहरी स्रोत बताउँछ । “सर्वोच्चको आदेशलाई हामीले मान्नैपर्ने हुन्छ । तर, लिखित पाठ कसरी आउँछ हामीले त्यसरी नै अघि बढ्नुपर्ने हुन्छ । त्यही कारण हामी लिखित पाठको पर्खाइमा छौँ,” एक प्रहरी अधिकारीले भने । मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले पनि आदेशको पाठ आएपछि कार्यान्वयनको चरणमा पुग्ने बताए । यद्यपि आदेश लगत्तै रौतहट प्रहरीले अनुसन्धान अघि बढाइसकेको जनाइएको छ ।
प्रहरीको अनुसन्धानका क्रममा गौर हत्या प्रकरणमा ११३ जनाविरुद्ध जाहेरी परेको खुलेको छ । प्रतिवादीहरूमध्ये नौ जनाको मृत्यु भइसकेको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले जनाए अनुसार गौर घटनाको भिडियो तथा प्रत्यक्षदर्शीसित प्रहरीले सोधपुछको काम थालिसकेको छ । ती प्रहरी अधिकारीले भने, “हामीले अनुसन्धान थालिसकेका छौँ ।
पहिलादेखि नै अनुसन्धान जारी नै थियो । तर, आदेशपछि थप बुझ्ने काम गर्दै छौँ । त्यो बेलाका भिडियोदेखि प्रत्यक्षदर्शी र प्रतिवादीहरूमध्ये ककसको भूमिका के थियो भन्नेबारेमा बुझिरहेका छौँ । आदेशको पाठ आएलगत्तै कार्यान्वयनको चरणमा जान्छौँ ।” त्रिभुवन साहसहितले गौर हत्याकाण्डमा मुद्दा चलाउने बाटो खोलिदिन माग गर्दै रिट दायर गरेका थिए ।
सोही रिटमाथि सर्वोच्चको परमादेश जारी गर्दै अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशसँगै घटनाको १९ वर्षपछि गौर हत्याबारे अनुसन्धान बढ्न लागेको छ । सर्वोच्चको आदेशपछि मंगलबार गृहमन्त्रीले तीनवटै सुरक्षा निकायका प्रमुखसित समेत छलफल गरेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री रमेश लेखकले सम्भावित सुरक्षा चुनौतीसहित विषयमा छलफल गरेका थिए । ०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र तत्कालीन नेकपा माओवादीको मधेशी मुक्तिमोर्चाबीच झडप भएको थियो ।
झडपमा परी माओवादीसहित मधेशी राष्ट्रिय मुक्ति मोर्चाका नेपालका २७ जना कार्यकर्ता मारिएका थिए । त्यस्तै १५० जना घाइते भएका थिए । फोरम नेपालका कार्यकर्ताले निर्ममतापूर्वक माओवादी कार्यकर्ताको हत्या गरेको आरोप छ ।
सो घटनामा रौतहटका नुरजहा खातुन, बाराका उषा थापा, रौतहटका चुनु ठाकुर, रौटहटकी सरस्वती उप्रेती, रौतहटकै प्रमोद यादव, नरबहादुर उपाध्याय, मकवानपुरका छेतबहादुर वाइबा, मकवानपुरकै नारायण दाहाल, राजन पोखरेल, रोहिन प्राखिन, बाजुराका रत्न बोगटी, गोर्खाका विविन्द्र मगराती, दाङका जितेन्द्र थापा मगर, सिन्धुलीका कुमार तोलांगेको ज्यान गएको थियो ।
त्यसरी नै रौतहटका रामकान्त चौधरी, मकवानपुरका उज्ज्वल दाहाल, रौतहटका दीपक पाण्डे, मकवानपुरका उर्मिला लो, मुनाल विक, पर्साका पूर्णजोशी, बाराका हस्तबहादुर श्रेष्ठ, रामकाजी कार्की, महेन्द्र साह, रौटहटकी रेखा परियार, गोविन्द अधिकारीसहित २७ जनाको ज्यान गएको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा पीडित परिवारले तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित ११३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर प्रहरीले कुनै अनुसन्धान अगाडि बढाएन । सो घटनाबारे त्यही बेला छानबिन समितिदेखि राष्ट्रिय मानव अधिकार आयोगले समेत विभिन्न छानबिन गरेर प्रतिवेदन बुझाएका थिए ।
आयोगले प्रतिवेदन सार्वजनिक गरे पनि सरकारले भने अझै छानबिन प्रतिवेदन सार्वजनिक गरेको छैन । सर्वोच्च अदालतको परमादेशसँगै पुनः गौर हत्याबारे प्रहरीले अनुसन्धान गर्ने तयारी थालेको छ ।