गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतको हालैको परमादेशपछि रौतहटमा फेरि राजनीतिक चहलपहल तीव्र बनेको छ । बिहीबार गौरस्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले जिल्ला जनप्रदर्शन समितिको गठन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
बैठकले आउँदो शनिवार साँझ गौरमा वृहत मशाल जुलुस निकाल्ने र आइतवार सदरमुकाममा भव्य जनप्रदर्शन गर्ने निर्णय गरेको हो । जनप्रदर्शन समितिको संयोजकमा रामकिशोर यादवलाई जिम्मेवारी दिइएको छ । बैठकमा सहभागी दलका नेताहरूले सर्वोच्च अदालतको परमादेशलाई राजनीतिक प्रतिशोध र मधेश–केन्द्रित राजनीतिलाई कमजोर बनाउने षड्यन्त्रको रूपमा व्याख्या गरे ।
उनीहरूले गौर घटनाको १९ वर्षपछि आएको अदालतको आदेश मुलुकमा फेरि अस्थिरता र अशान्ति निम्त्याउने प्रयास भएको भन्दै त्यसको प्रतिवाद स्वरूप सशक्त आन्दोलनमा उत्रिनुपर्नेमा जोड दिए । समितिले जिल्लाका चारै क्षेत्रमा नेताहरूलाई खटाएर जनतालाई जागरूक बनाउने र निर्धारित कार्यक्रमहरूमा सक्रिय सहभागिता जुटाउने तयारी गरेको छ ।
शनिबारको मशाल जुलुस र आइतवारको जनप्रदर्शनलाई सफल बनाउन सम्पूर्ण जिल्लावासीलाई साथ दिन अपील गरिएको छ । २०६३ साल चैत ७ गते गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा (माओवादी) कार्यकर्ताबीच भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो ।
नेपालकै राजनीतिक इतिहासमा चर्चित बनेको यो घटना त्यसयता निरन्तर विवाद, आरोप– प्रत्यारोप र राजनीतिक तानातानको विषय बन्दै आएको छ । घटनामा दोषीको भन्ने विषयमा दलहरूले आ–आफ्नो व्याख्या गरेका कारण सत्यतथ्य छानबिन प्रक्रियामा बारम्बार अवरोध देखियो । हालै सर्वोच्च अदालतले गरेको परमादेशपछि यो मुद्दा फेरि राजनीतिक बहसको केन्द्रबिन्दु बनेको छ ।
सर्वदलीय बैठकमा संविधानसभा सदस्य बबन सिंह, पूर्व प्रदेश सांसद बाबुलाल साह, पूर्व प्रदेशका राज्य मन्त्री योगेन्द्र राय यादव, रेबन्त झा, अनिल सिंह, दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह, अमर यादव, विश्वनाथ पटेल, छोटन सिंह, रामेश्वर यादव, शंकर यादव, रामचन्द्र गिरी, उमेश तिवारी, भुषण सिंह, राजिव सिंह, किरण ठाकुर, भाग्यनारायण साह, गौरीकान्त मिश्र, वृजकिशोर यादव, अनिल यादव, श्याम यादव, राजकुमार दासलगायत विभिन्न दलका नेता तथा सरोकारवालाहरू उपस्थित थिए ।
वीरगञ्जमा जसपा नेपालको प्रदर्शन
सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिनका लागि परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल निरन्तररुपमा आन्दोलन गर्दै आएको छ ।
अदालतले जारी गरेको सो परमादेशविरुद्ध जसपा नेपालले वीरगञ्जमा बिहीबार प्रदर्शन गरेको छ । अदालतको सो कदमलाई राजनीतिक प्रतिशोध र मधेश आन्दोलनलाई कमजोर बनाउने षड् यन्त्र भन्दै जसपाका कार्यकर्ताहरूले आज वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले विभिन्न नाराबाजी गर्दै अदालतको फैसलाको विरोध गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको यो निर्णय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र यसले मधेश आन्दोलनका उपलब्धिहरूलाई समाप्त पार्न खोजेको आरोप लगाए ।
गौर हत्याकाण्डको छानबिनको मागले पार्टीको उच्च नेतृत्वमाथि सीधा निशाना साँधिएको भन्दै उनीहरूले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । पार्टीका शीर्ष नेताहरूले अदालतको कदमलाई गम्भीरतापूर्वक लिएका छन् । यसको विरोधमा देशभर आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी थालिएको जसपा नेपालले जनाएको छ ।



