२०८२ भाद्र ७, शनिबार ०७:४८

शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा, आदि सूचकांकको पुछारमा रहेको मधेश प्रदेश भ्रष्टाचार, लागू पदार्थ बिक्री वितरण, दलित तथा महिला हिंसा आदि सूचकांकमा भने पहिलो स्थानमा छ । गाँजा तस्करीको प्रमुख नाकाको रुपमा मधेश भूमि अचेल नयाँ कीर्तिमान बनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार मधेश प्रदेशका ८ जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ५ सय ४० किलो ९५० ग्राम गाँजा बरामद भएको थियो भने २०८१/२०८२ मा अघिल्लो वर्षभन्दा झन्डै चार हजार किलो बढी अर्थात् १२ हजार ३ सय ९१ किलो ६ सय ६ ग्रामगाँजा बरामद भएको थियो ।



धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, सखुवासभा, मकवानपुर, कार्भे लगायतकामध्य पहाडी जिल्लाहरुमा उत्पादन भएको गाँजा तराईका जिल्ला हुँदै भारत निकासी हुन्छ । यता मधेशका किशोर तथा युवा पुस्ता गाँजा, भांग, फेन्सिडिल लगायतका लागूपदार्थ सेवन गरेर बर्बाद हुँदै छन् । तीनै तहका सरकार भने सडक, मन्दिर, मदरसा र पोखरी सौन्दर्यीकरणको नाममा बजेट खर्चिदै छ । स्थानीय प्रशासन तथा सीमानाकामा तैनाथ जनपथ र सशस्त्र प्रहरी ‘मौकामा चौका’ हान्ने बाहेक केही गर्न सकेका छैनन् । गाँजा तस्करी कुन परिमानमा हुन्छ, यस बारे बुझ्न केही उदाहरण माथि ध्यानाकर्षण गरौँ ।

घटना– १ गत वर्ष पुस २७ गते सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका– १ स्थित चन्हीबाट प्रहरीले ६ सय ७० किलो गाँजा बरामद ग¥यो । परालले छोपेर राखिएको अवस्थामा बरामद गरिएको उक्त गाँजा भारत निकासी गर्न राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरी स्रोतले जानकारी दिएको थियो ।

घटना– २ गत साउन १ गते, सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ६० वर्षीय मेदीयादवको घरबाट ७ सय १७ किलो गाँजा बरामद गरियो । गाँजा बरामद गरिए पनि गाँजा भण्डारण गरिएको घरधनी मेदी यादव भने फरार भए ।

घटना– ३ गत वर्ष चैत १७ गते, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट प्रहरीले २ सय ३५ किलो गाँजा बरामद गरेको थियो । गाँजा लोड गरेर राखिएको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रंगको मिनी ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई कालो त्रिपालले ढाकेर लुकाइएको अवस्थामा २० वटा पोकामा रहेको गाँजा भेटिएको थियो । मिनी ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोले पक्राउ परेको थियो ।

घटना– ४ गतवर्ष कातिक ११ गते वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा आयल सेन्टर नजिक ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको २ सय २१ किलो गाँजासहित ट्रक चालक मकवानपुर, भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई नियन्त्रणमा लिएको थियो ।

घटना– ५ गत जेठ २० गते सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले १ हजार १ सय २० किलो गाँजा बरामद गरेको थियो भने ट्रक चालक ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिएको थियो । यसैगरि गत भदौँ ५ गते प्रहरीले सुनसरीको धरानबाट १ हजार ४ सय २० किलो गाँजा बरामद गरेको थियो । प्रहरीले गाँजासहित मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीद भूमि गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो ।

माथिका घटनाहरुले के देखाएको छ भने– गाँजाको उत्पादनमध्य पहाडी जिल्लाहरुमा हुन्छ । गाँजा तस्करीमा प्रयोग हुने सवारी साधनका चालक यिनै जिल्लाका हुन्छन् । मधेशका जिल्लाहरु हुँदै ती गाँजा भारत निकासी हुन्छ । प्रतिकिलो २ हजार लिएर गाँजा ओसारपसार गर्ने भरियाहरु पक्राउ पर्छन् । मुख्य व्यापारी र गाँजा उत्पादकहरुलाई प्रहरी प्रशासन र राजनीतिक संरक्षण प्राप्त हुने भएकोले उम्किन्छन् ।

नभए ६ महिनामा तयार हुने गाँजा खेतमै पनि फरानी गर्न सकिन्थ्यो । प्रहरीले गाँजा नियन्त्रणमा लिनु भनेको मोलमोलाईमा कुरा नमिल्नु वा उपल्ला तहका पदाधिकारीहरुलाई देखाउनलाई मात्र हो भनेर विश्लेषण गरिन्छ । जानकारहरुका अनुसार, प्रहरीले सय किलो गाँजा नियन्त्रणमा लिदाँ हजार किलो भारत निकासी भइ सकेको हुन्छ ।

गाँजा भारत पुगे पछि प्रतिकिलो २० हजार रुपैयाँभन्दा अधिक मूल्यमा बिक्री हुन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच नेपालका प्रायः सम्पूर्ण पालिकासम्म छ । मधेशमा त वडा वडासम्म प्रहरीको संजाल छ । अझ भारतीय नाकामा सशस्त्र प्रहरी नै तैनाथ छन् र पनि नेपालबाट गाँजा, रक्सी तथा भारतबाट लागू औषधको निर्वाध तस्करी भइरहेको छ ।

तस्करहरुको मनोवल यतिसम्म बढेको वा बढाइएको छ कि बेला मौका प्रहरीमाथि पनि आक्रमण भइरहन्छ । युवा पुस्ता लागूऔषधिको चपेटामा पर्नु भनेको चोरी, लूट पाट, हत्या, हिंसा तथा गैंग फाइटलगायतका असामाजिक क्रियाकलापहरुमा वृद्धि हुनु हो । अचेल जनकपुरधामको चियापसलदेखि कफी हाउससम्म, गंगासागर, धनुषसागर, रत्नसागर, नोचा पोखरी आदिपोखरीका डिलहरुदेखि टोल टोलका पसलसम्म गाँजाबिक्री वितरण हुन्छ ।

प्रहरी चौकीका असईदेखि डिआईजीसम्मका घुमुवा छन् । घुमुवाको काम समाजमा भईरहेका घटनाबारे सूचना संकलन गर्नु हो । यी घुमुवाहरुको काम तस्करसंग सेटिङ गर्नु मात्र हो कि यी र यस्ता घटनाहरुबारे सूचना दिनु पनि हो ? अचेल कानून निर्माताहरुको एक समूह गाँजा खेतीलाई पुनः कानूनी मान्यता दिने प्रयाससुरु गरेका छन् । गाँजा खेतीको आफ्नै गुण–दोष होला ।

यदि सरकारले गाँजा खेती र तस्करीलाई नियन्त्रण गर्न सक्दैन भने यसलाई राजस्वको दायरामा ल्याए हुन्छ । यद्यपि गाँजा, चरेश, ब्राउन सुगर, हफिम आदि नेपालको मात्र होइन, वैश्विक चुनौती हो । यस चुनौतीलाई सामना गर्न सबै देशले आ–आफ्ना हिसाबले कानून निर्माण गरेका छन् । व्यवस्थापन गरेका छन् । फेरि विश्व अर्थतन्त्रलाई प्रभावित पार्ने यी उत्पादनहरुमाथि वैश्विक नजर पनि हुन्छ ।

सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१’ पारित गरेको थियो । जसले गाँजालाई लागूऔषध मान्दै प्रतिबन्ध लगायो । नेपाल उक्त अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागूऔषध नियन्त्रणसम्बन्धी कानुन बनाएर गाँजा खेतीमाथि प्रतिवन्ध लगाउँदै गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो ।

यस अघि नेपालमा विधिवत स्वीकृति लिएर गाँजा खेती हुने गरेको थियो ।

Comment


Related News

Latest News

Trending News