जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतले दिएको आदेश आफैंमा आश्चर्यजनक रहेको बताउनुभएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले घटनासँग सरोकार राख्ने कुनै पनि पक्षसँग सोधखोज नै नगरी घटना छानविनका लागि आदेश दिइएको बताउनुभयो ।

२०६३ साल चैत ७ गते गौर हत्याकाण्ड भएपछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मी, पाटन उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा, मानव अधिकार आयोग, तत्कालीन समयमा नेपालका क्रियाशील अनमिनलगायतले छानविन गरेको उहाले बताउनुभयो । तर, अधिकांश रिपोर्टहरुलाई गोप्य राखिएको उहाको भनाइ छ ।
उहाले गौर हत्याकाण्डको हुनुमा माओवादीमा रहेको जनसेनाको धङ्धङ्ग र उन्माद प्रमुख रहेको आरोप लगाउनुभयो ।
उहाले गौर हत्याकाण्डको बारेमा विभिन्न छानविन समितिले तयार पारेको रिपोर्ट लुकाएर अदालतलाई नै दीग्भ्रमित पार्ने काम भएको जिकिर गर्नुभयो । रिपोर्ट लुकाइएकै कारण गौर हत्याकाण्डको क्रममा मृत्युभएका २७ जना र १५० जनाभन्दा बढी घाइतेहरुले न्याय नपाएको सुमनले बताउनुभयो ।
जसपा नेपालले भूमिसम्बन्धी विधेयकको विरोधमा आगामी सोमबार देशभर विरोध कार्यक्रम आयोजना गरिएको पनि उहाले जानकारी दिनुभयो । सुमनले राष्ट्रियसभामा भूमिसम्बन्धी विधेयक पारित हुन नदिने चेतावनी दिनुभयो ।


