
रौतहटको यमुनामाई गाउँपालिकामा अनियमितता एवम् भ्रष्टाचारविरुद्धमा वडाध्यक्षले सोमबार छैटौँ दिन पनि आमरण अनसन जारी राखेका छन् ।
यमुनामाई गाउँपालिका–२ का वडाध्यक्ष सीताराम यादवले १३ बुँदे माग राख्दै गत बुधबारदेखि गाउँपालिका कार्यालय अगाडि आमरण अनसनमा बसेका थिए । अनसनकारी वडाध्यक्ष यादवको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई सलाइन पानी दिइएको छ ।

आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मको गाउँसभाको निर्णय, कार्यपालका बैठकको माइनुट, रातोकिताब, सर्सत अनुदान, समपुरक, विशेष, स्वास्थ्य, शिक्षा, पुंजिगत राजस्व बाँडफाँट र आर्थिक सहयोग वितरणलगायत रहेभएका बजेट योजनाको कागज र सबै खाताको बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदनसमेतको प्रमाणित प्रतिलिपि, यमुनामाई गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरूको नियुक्ति समेतको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन अनसनकारी वडाध्यक्ष यादवको माग छ ।
त्यस्तै यमुनामाई गाउँपालिकामा अनलाइन टेन्डर, अनलाइन बैठक र अनलाइन बिडिङ प्रणाली लागु गर्नुपर्ने, यमुनामाई गाउँपालिकाअन्तर्गत सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमका शिक्षा प्रणाली लागु गर्नुपर्ने र शीर्षक समेतको व्यवस्था तत्काल गर्नुपर्ने, यमुनामाई गाउँपालिकामा रहेको जिन्सी सामानहरूको विवरणको प्रतिलिपि र जेसिबी स्कारपियो, मोटरसाइकल, साइकल समेतमा हालसम्म के कति इन्धन खर्च भएको हो सोको मर्मत खर्च कागजात र जेसिबीको आम्दानीको समेत विवरणको प्रमाणीत प्रतिलिपि गाउँपालिका भरिमा प्रत्येक व्यक्तिलाई स्वास्थ्य बिमा गर्नुपर्ने वडाध्यक्ष यादवको माग पत्रमा उल्लेख रहेको छ ।
त्यस्तै वडा नं १ देखि ५ सम्म कृषि विद्युतीकरणका लागि पोल तार ट्रान्सफरमरको व्यवस्थापन तत्काल गर्नुपर्ने, गाउँपालिका भरिमा घर बत्ती विद्युत महसुल फ्रि गर्नुपर्ने, गाउँपालिका स्तरीय अस्पतालको स्थापना तत्काल गर्नुपर्ने, सामाजिक सुरक्षा (वृद्धा, विधुवा, बालपोषण, अपाङ्ग) समेतको घर घरमा भत्ता पु¥याउने व्यवस्थापन गर्नुपर्ने स्थानीय तहका पदाधिकारी तथा सदस्यको पाउने सुविधा के कति पाएको हो र कानुन बमोजिमको सुविधा पाउनुपर्ने माग राखेको छ ।
गाउँपालिकाको ९ औं गाउँसभा अवैध तरिकाले गराएकोमा सो खारेज गरी ९ औं गाउँ सभा विधिवत रूपमा गर्नुपर्ने र यस गापामा हालसम्म क–कसले टिएडिए बुझेका छन् र आर्थिक सहयोग ‘क’ कसले पाएका छन् सोको प्रमाणीत प्रतिलिपि माग गरेको तथा आफ्ना माग पूरा नभएसम्म अनसन जारी रहने वडाध्यक्ष यादवले बताए ।