
रौतहटमा सुटकेशभित्र रुबी देवी साह सुडी हत्या प्रकरणमा हत्यामा प्रहरीले अनुसन्धानका क्रममा एक जना ई–रिक्सा चालकलाई पक्राउ गरेको छ ।
शनिबार गौर नगरपालिका–२ स्थित महादेवपट्टीका २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको घटनामा प्रहरीले एक जना पक्राउ परेका छन् । रुबीको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका स्थानीय लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेको एक प्रहरीले जनाएको छ । उक्त ई–रिक्सामा शवसहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारी पुगेका थिए । पुल पारी पुगेपछि ई–रिक्साको पांग्रा बिग्रिएको थियो । सोही क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरेको उनको भनाइ छ ।
रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार सुटकेश बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान चाहेनन् । त्यसपछि पासवान सुटकेश लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले रौतहट प्रहरीलाई बयानमा बताएका छन् ।
सोही अनुसन्धानमा खटिएका एक प्रहरीले जनाए अनुसार गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेको थियो । ‘अहिले अनुसन्धान भइरहेको छ । छिट्टै घटनाका सम्बन्धमा सबै कुरा बाहिर ल्याउँछौँ’, ती प्रहरी अधिकारीले भने, ‘शंकित व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमै रहेको देखिन्छ ।’ शंकास्पद व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किँदा ल्याएकै सुटकेश रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।
रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ । शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन् । तर त्यसै राति गौर नगरपालिका– ९ स्थित मुडवलवा गेटनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो ।
राति नै स्थानीयले प्रहरीलाई खबर गरे पनि प्रहरीले आइतबार बिहान स्थानीयको रोहबरमा सुटकेश खोलेर हेर्दा शव फेला परेको थियो । रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुरका शिवसागर सुडीसँग विवाह भएको थियो । घटनापछि रुबीका श्रीमान् पनि प्रहरीको सम्पर्कमा पुगेका छन् । रुबी भने केही महिना पहिलेदेखि मात्रै आमासँग डेरा लिएर बस्दै आएकी थिइन् ।
भारतमा घरबाट विद्यालय टाढा भएकाले छोरा पढाउन उनी यता डेरामा बस्न थालेकी थिइन् । ती शंकित व्यक्तिलाई भेट्नु पहिले उनी ब्युटिपार्लर गएको र छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको खुलेको छ । रातिसम्म पनि घर नफर्किएपछि आमाले खोजी गर्दा उनको मोबाइलमा पहिले फोन उठेन ।
राति ९ बजेतिर भने स्वीच अफ भएको थियो । त्यसको केही समयमै सुटकेश फेला परे पनि अर्कोदिन बिहान मात्रै शव रहेको खुलेको थियो ।