पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमा हैजाको संक्रमण फैलिएको छ । तर हैजाको स्रोत भने अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । शुक्रबारदेखि वीरगञ्जका वडा नम्बर ११, १२ र १३ मा हैजा संक्रमित भेटिएको छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जनाए अनुसार हालसम्म वीरगञ्जमा ७९ जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य अधिकृत ठाकुरले भने, “आइतबार बेलुका ८ बजेसम्म हैजाका संक्रमित ७१ जना भेटिएका थिए । सोमबार बिहानसम्म थप आठजना हैजाका संक्रमित भेटिएका छन् ।” १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचाररत छन् । जनस्वास्थ्य अधिकृत ठाकुरले भने, “हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,” उनले अघि थप्दै भने, “विश्व स्वास्थ्य संगठनलगायत प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायत गरिरहनुभएको छ ।

सम्भवतः आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ ।” कतिपय बिरामीले परीक्षण गराउन नमानेका वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए । उनले भने, “वडा नम्बर ११, १२ र १३ का सर्वसाधारण प्रभावित भएको देखिन्छ । कतिपय त सिकिस्त भएर पनि अस्पताल आउने गरेका छन्, अस्पताल आएका सबैको परीक्षण गर्न भ्याइएको छैन ।
कतिले त परीक्षण गर्न मान्दैनन् ।” पछिल्लो तीन दिनमा नारायणी अस्पतालमा पुगेर उपचार गराउनेको संख्या १०० भन्दा धेरै छ । उनीहरूमध्ये २६ जनामा हैजा पुष्टि भएको डा. सिंहले बताए । केही दिनको तथ्यांकको तुलनामा सोमबारसम्म अस्पताल आउने बिरामीको संख्या कम रहेको उनले बताए । उनले भने, “एकजना ३५ वर्षीय पुरुषलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको पाइयो, हैजा पुष्टि भने भएको छैन । शंकास्पद छ ।” केही बिरामी उपचारपछि घर फर्किएका उनले बताए । उनले भने, “नारायणी अस्पतालमा हैजाको उपचारको लागि शय् या र जनशक्ति दुवैको अभाव देखिएको छ, अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।”
प्रवक्ता सिंहले हैजा महामारीका साथसाथै अरू बिरामीको चाप पनि थेग्न नसकिने रहेको गुनासो गरे । यता स्रोत पत्ता लगाउनका लागि प्रदेश सरकार र संघीय सरकारले चिकित्सकसहितको टोली नै परिचालन गरेको छ । भने सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमेत हैजा प्रभावितहरुसंग भेटघाट गरी स्वास्थलाभको कामना गरे ।


