
रौतहटकी रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका युवकले निर्धक्कसँग अपराधको स्वीकारोक्ति गरेका छन् । आत्मदाह प्रयास गर्नुपूर्व उनले भिडिओ नै बनाएर घटना विवरण सुनाएका थिए ।
गौर नगरपालिका वडा नम्बर २ डेरा गरी बस्दै आएकी रुबीको शव सुटकेशभित्र राखिएको अवस्थामा गौर–९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोडनजिक सडकको पश्चिम किनारमा भेटिएको थियो । घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मण पासवानलाई पक्राउ गरेको हो।

पक्राउ गरिनुपूर्व नै पासवानले भिडिओ बनाएर पोस्ट गरेका थिए । शरीरमा आगो लगाएर जलेको अवस्थामा पक्राउ गरेर प्रहरीले उनलाई अस्पताल भर्ना गरेको छ ।
पासवानले आफ्ना भिडिओमा रुबी आफ्नै प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् । आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ । तर रुबीकी आमाले आफूहरूलाई छुटाएको पासवानले बताएका छन् ।
रुबीको हत्याअघि आफूहरुबीच लामो कुराकानी भएको र दुवैजना बाँच्न नसक्ने अवस्थामा पुगेको समेत उनको भनाइ छ ।